Tuesday, November 11News That Matters

पोखरामा पहिलोपटक ‘आरयू फेस्ट–२०२५’, फोहोरबाट मोहोर बनाउने उद्देश्य

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा पहिलो पटक ‘आरयू फेस्ट–२०२५’ आयोजना गरिने भएको छ। फोहोरलाई खजना (मोहोर) बनाउने मुल मन्त्रका साथ यो फेस्टिभल साउन १६ र १७ गते बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने भएको हो।

पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी ) को साझेदारीमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जि .सि .आर.यु )’ अन्तर्गत फेस्टिभलको आयोजना हुन लागेको हो।

पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार, फेस्टिभल हरित विकासतर्फको नवीनतम पहलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। “सामान्य जीवनमा प्रयोग नभएका वस्तुहरूलाई पुनःप्रयोग गरेर चक्रीय अर्थतन्त्रमा रूपान्तरण गर्ने ज्ञान, सीप र अवसरहरू यो कार्यक्रमले दिनेछ,” उनले बताए।


पोखरामा सञ्चालनमा आएको हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने फेष्टिभलमा नेपाल र दक्षिण कोरियाबीचको अनुभव आदानप्रदान गरिँदैछ। कार्यक्रममा रिसाइक्लिङ र अपसाइक्लिङजस्ता मौलिक नेपाली सीपहरूप्रति जोड दिइएको छ भने, कोरियाको चक्रीय (सर्कुलर) अर्थतन्त्रले दिएको प्रेरणादायी प्रभावबारे पनि छलफल भइरहेको छ। परियोजनाका फोकल पर्सन तथा महानगर इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाका अनुसार यो फेष्ट नयाँ सोच, नीति र समाधानमूलक छलफलको साझा मञ्च बन्दै गएको छ।

फेष्टमा विद्यार्थी, नीति निर्माता, र उत्साही नागरिकहरूको उल्लेख्य सहभागिताको अपेक्षा रहेको आयोजकले वताय । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार यस अवसरमा उद्योग र कम्पनीका प्रतिनिधिहरूलाई ‘बिस्तारित उत्पादक जिम्मेवारी (EPR)’ को अवधारणाबारे जानकारी गराउने विशेष छलफल आयोजना गरिएको छ।

उनका अनुसार चकलेट, चाउचाउ, बिस्कुट, चुरोट वा पेय पदार्थ उत्पादन गर्ने कम्पनीहरूले त्यसपछि निस्कने फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने आवश्यकताबारे खुला संवाद हुनेछ

फेस्टिभलले रिसाइक्लिङ र अपसाइक्लिङमा आधारित नेपाली मौलिक सीप र दक्षिण कोरियाको अनुभव आदान–प्रदान गर्नेछ। प्रदर्शनी, प्राविधिक डेमो, संवाद सत्र, कार्यशाला, सार्वजनिक कला प्रदर्शन, र युवालाई लक्षित सिर्जनात्मक कार्यक्रमहरू यसमा समावेश हुनेछन्।

‘प्लास्टिक टु रोड’ प्रविधिदेखि लिएर जलवायु परिवर्तन, दिगो पर्यटन, हरित उद्यमशीलता र रोजगारी सिर्जनासम्मका विषयमा विशेषज्ञ संवाद हुनेछ। दक्षिण कोरियाको सफलतामूलक अनुभवहरू पनि प्रस्तुत गरिनेछ।

हाल पोखरामा कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीको ०.८७ मिलियन डलर सहयोगमा जिभिजेड सेन्टर निर्माण भइरहेकाे छ। नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण कार्य पनि भइरहेको छ।

फेष्ट अन्तर्गत प्रदर्शनी केन्द्रमा विविध उत्पादित सामाग्रीहरू प्रदर्शनमा राखिएको छ भने पोखरा महानगरका ३३ वटै वडामा १३६ वटा सामुदायिक समूह गठन गरी रिसाइक्लिङ र अपसाइक्लिङमा आधारित उत्पादन भइरहेको मेयर आचार्यले जानकारी दिए।

उनका अनुसार हालसम्म करिब ३ हजार ३ सय नागरिक परियोजनामा प्रत्यक्ष संलग्न भइसकेका छन्। उत्पादन प्रक्रियामा सिमान्तकृत समुदायलाई प्राथमिकताका साथ रोजगारी दिने प्रयास भइरहेको उनले बताए।

महानगरको लक्ष्य दुई वर्षभित्र ३ हजार जनालाई स्थायी रोजगारीमा आबद्ध गराउनु रहेको र यस परियोजनाले हरित अर्थतन्त्रको जग बसाल्दै रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने उनले उल्लेख गरे।

नगरप्रमुख आचार्यले परियोजना पोखराको स्वामित्वमा लैजाने प्रतिबद्धता जनाउँदै हरित अर्थतन्त्रको दीगो विकासका लागि नीति निर्माणमा समेत महानगरले अग्रसरता लिने बताए।

आरयू फेस्ट विद्यार्थीदेखि नीति निर्माता र आम नागरिकहरूसम्मका लागि सहकार्य, नवीन सोच र वातावरणीय जिम्मेवारीको साझा थलो बन्ने अपेक्षा गरिएको छ। पोखरालाई हरित, स्मार्ट र दिगो शहरको रूपमा अघि बढाउने यात्रामा यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।

महानगरपालिकाले फेस्टिभलमा उत्साहजनक सहभागिता जनाउन आम पोखरेलीहरूलाई आह्वान समेत गरेको छ।

भिडीयो हेर्नुहोस :-

प्रतिकृया दिनुहोस