Tuesday, February 10News That Matters

‘अपरेसन यलो मेटल’ पोखरामा ६.४ केजी अवैध सुनसहित ११ जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

गण्डकी प्रदेश प्रहरीले‘अपरेसन यलो मेटल’अन्तर्गत पोखराको विभिन्न क्षेत्रबाट ६.४ केजी अवैध सुन र ठूलो मात्रामा चाँदीसहित ११ जनालाई पक्राउ गरेको छ।

कास्की जिल्ला, पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा अवैध सुन–चाँदी कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयदेखि प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा २०८२ साउन २३ गते अपराह्न ४ बजेतिर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरी ‘अपरेसन यलो मेटल’ सञ्चालन गर्दै छापामारी कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार पक्राउ परेकामा भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा बसोबास गर्दै आएका ११ जना छन्। ती हुन्– राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी। यस्तै, फरार सन्जय ढावको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट बरामद सुनको बजार मूल्य करिब ११ करोड १ लाख ४ हजार र चाँदीको मूल्य करिब १० लाख ३९ हजार रुपैयाँ रहेको छ।

प्रहरी अनुसन्धान अनुसार, पक्राउ परेकाहरू पेशाले कालिगढ भए पनि उनीहरूले भारतबाट सुन ल्याएर पोखरामा प्रशोधन गरी बेच्ने काम गर्दै आएका थिए। उदाहरणका लागि, पोखरा–२ मोहरिया टोलमा १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलब ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १ लाख ६० हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ। यस्तै, फरार सन्जय ढावको कार्यस्थलबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि बरामद सुनचाँदीसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको एसपी ओलीयाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

भिडियो हेर्नुहोस :-

प्रतिकृया दिनुहोस