Tuesday, February 10News That Matters

पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्

गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको संयमन, पारदर्शिता र पेशागत पत्रकारिताको प्रवर्द्धनलाई संस्थागत रूप दिन सोमबार पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिए। स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य हुने भन्दै उनले प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर ऐतिहासिक कदम चालेको बताए। “यस कार्यालयले कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शितामा नयाँ आयाम थप्नेछ। सञ्चार माध्यमहरू व्यवस्थित हुने मात्र होइन, पत्रकार र संस्थाबीचको आपसी विश्वास पनि मजबुत बन्छ,” मुख्यमन्त्री पाण्डेले भने।

प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा यो कार्यालय महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले आवश्यक नीति, संरचना र स्रोतसाधन उपलब्ध गराउने प्रतिवद्धता जनाए।

प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी दिँदै, यसलाई दर्ता–नवीकरण मात्र गर्ने निकाय नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्थाका रूपमा प्रस्तुत गरिने बताइन्। उनका अनुसार, कार्यालयले सञ्चार संस्थाको अनुमतिपत्र वितरण र नवीकरणदेखि लिएर एफ.एम. रेडियोको इजाजत, छापामाध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासो सुनुवाइ, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, कल्याणकारी कोष सञ्चालन, तालिम तथा छात्रवृत्ति समन्वय, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण तथा सिफारिसजस्ता काम गर्नेछ।

भण्डारीका अनुसार, गण्डकी प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकमा अनलाइन पत्रिका दर्ता र नवीकरणसम्बन्धी स्पष्ट प्रावधान राखिएको छ र यसको कार्यान्वयन प्रभावकारी रूपमा यसै कार्यालयमार्फत हुने छ। अनलाइन मिडियाको दिगो विकास, पारदर्शिता र गुणस्तर अभिवृद्धि गर्ने दिशामा कार्यालय सक्रिय रहने उनको भनाइ थियो।

कार्यक्रममा सरोकारवाला, सञ्चारकर्मी, पत्रकार संगठनका प्रतिनिधि र प्रदेश सरकारका अधिकारीहरू उपस्थित थिए। प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायतले पनि आफ्ना धारणा राख्दै कार्यालयको स्थापना प्रदेशको सञ्चार क्षेत्रमा संस्थागत सुधारको महत्वपूर्ण सुरुवात भएको बताए।

प्रतिकृया दिनुहोस