पोखरा
प्रथम अमलाचौर–चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता गत २०८१ फागुन २९ गतेदेखि चैत २ गतेसम्म युवाहरूको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमबाट बचत भएको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने आयोजकहरूले प्रतिबद्धता जनाएका थिए। आर्वा अमलाचौरका युवाहरू मार्फत संकलित रकम आयोजकहरूले स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सहयोग गरिएको हो।
भलिबलप्रेमी, मानवभावका व्यक्तिहरू तथा साथीभाइ शुभचिन्तकहरूबाट जम्मा २ लाख ७७ हजार ५९१ रुपैयाँ संकलन भएको थियो। कुल खर्च २ लाख १७ हजार ५ रुपैयाँ भएको र कार्यक्रमपछि ६० हजार ५८६ रुपैयाँ बचत भएको आर्थिक संयोजकहरूले जनाए। २०८१ साल चैत १ गतेदेखि २०८२ साल साउन २८ गतेसम्मको ब्याजसहित जम्मा रकम ६१ हजार ३३६ रुपैयाँ पुगेको छ।

कार्यक्रममा श्री अधिकारी र अमृतराज परियार खेल संयोजकको रूपमा, देवेन्द्र परियार, सुरज अधिकारी र शम्भु सिग्देल कार्यक्रम संयोजकको रूपमा, तथा रामप्रसाद बराल र लक्ष्मण बराल आर्थिक संयोजकको रूपमा सक्रिय रहेका थिए।
यस रकमबाट अमरज्योति आधारभूत विद्यालय पोखरा–१३ आर्वा अमलाचौरलाई १५ हजार नगद र ७ हजार ५ सय बराबरको शैक्षिक सामग्री, सिमला आधारभूत विद्यालय पोखरा–१३ आर्वालाई १० हजार नगद र आर्वा विजय मावि पोखरा–१३ डाँडबेसीलाई १५ हजार नगद सहयोग गरिएको छ। सहयोगपछि समितिसँग १३ हजार ८३६ रुपैयाँ बचत रहेको छ।

आर्थिक संयोजक रामप्रसाद बरालका अनुसार, प्रथम भेट्रान्स भलिबल प्रतियोगिता अपेक्षाभन्दा उत्कृष्ट भएको र संकलित रकमलाई शिक्षामा लगानी गर्न पाउँदा खुशी लागेको छ। उनले अर्को वर्ष अझ ठूलो कार्यक्रम गर्ने, अझ बढी रकम संकलन गर्दै खर्च कम गरी स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याउने योजना रहेको जानकारी दिएका छन्।
