Wednesday, March 11News That Matters

पोखराको ऐतिहासिक टुंडिखेलमा तेस्रो तीज महोत्सव हुने

यो समाचार शेयर गर्नुहोस्


पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको ऐतिहासिक टुंडिखेल मैदानमा आगामी भदौ ६ गतेदेखि १५ गतेसम्म तेस्रो ऐतिहासिक तीज महोत्सव–२०८२ आयोजना हुने भएको छ। इन्द्रेणी एकिकृत विकास केन्द्र (इन्द्रेणी युवा क्लब) ले महोत्सवको आयोजना गर्ने जनाएको छ।
आयोजक समितिका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार महोत्सवमा करिब १५० भन्दा बढी व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, बालउद्यान, झाँकी प्रदर्शन, उद्घाटन समारोह र सम्मान कार्यक्रम हुने छन्। महोत्सवलाई सफल बनाउन ६४ लाख ५० हजार खर्च हुने र झण्डै ६९ लाख आम्दानी हुने अनुमान गरिएको छ। प्राप्त बचत रकम करिब ४ लाख ५० हजार रहनेछ, जसलाई सामाजिक संरचना र टुंडिखेल मैदान व्यवस्थापनमा खर्च गरिनेछ।


महोत्सवको विशेष आकर्षणमा आमा समूहबीच हुने तिज गीत प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ढिकी–जाँतो जस्ता परम्परागत सीप प्रतियोगिता र खेलौ फाल्ने प्रतियोगिता रहनेछन्। प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
त्यसैगरी, महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहनेछ। गायक राजु परियार, गायिका ज्योति मगर, नविना शिलुवाल (खुइली), श्याम राना, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। साथै हास्य–व्यङ्ग्य कार्यक्रम समेत समावेश गरिनेछ।


महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टल, मनोरञ्जनका लागि बालउद्यानको व्यवस्था पनि गरिएको छ। आयोजकले यसपटकको महोत्सवलाई अझ व्यवस्थित बनाउन नेपाल महोत्सव व्यवस्थापन प्रा.लि.लाई जिम्मेवारी दिएको छ।
कार्यक्रमलाई सफल बनाउन ३९ सदस्यीय मूल आयोजक समिति, संरक्षण समिति र ३८ वटा उपसमितिहरु गठन गरिएको आयोजकले जानकारी दिएको छ।


महोत्सवका मुख्य प्रायोजक BYD रहेका छन् भने सह–प्रायोजकमा टुबोर्ग बियर रहनेछन्। त्यसैगरी गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल, राष्ट्रिय वाणिज्य बैंक, बाल्ट्रा एप्लायन्सलगायत विभिन्न संघसंस्थाले समेत सहयोग गर्ने भएका छन्।

अध्यक्ष तथा संयोजक भानुभक्त अधिकारीका अनुसार पोखराको सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै महिलाको आवाजलाई समाजमा उजागर गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। उनले पत्रकार, व्यवसायी र आम जनताबाट सहयोग र सुझावको अपेक्षा राखेका छन्।

यस्तै, महोत्सवको प्रवर्द्धकका रूपमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका साथै पोखरा महानगरपालिका–१, २ र ३ वडा रहने पनि अधिकारीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस