पोखरा
जेन–जी गण्डकी प्रदेशले पोखरामा आकस्मिक पत्रकार भेटमा आफूहरू कुनै राजनीतिक दल वा राजावादी नभएको स्पष्ट पार्दै ११ बुँदे माग सार्वजनिक गरेको छ। प्रतिनिधिहरूले पत्रकार भेटमै भने,
“हामी कुनै दलमा छैनौं, न त राजावादी हौं। जेन–जी हाम्रो आफ्नै परिचय हो। सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुखका रूपमा सुझाव दिएको मात्रै हो, यो कुनै दलगत स्वार्थ होइन।”
उनीहरूले देशभरको जेन–जी गतिविधि सम्झिँदै पत्रकार भेटमै थपे,
“कतै जेन–जीले आगो लगाएको थियो, कतै निभाएको थियो। कतै लुटिरहेको थियो, कतै लुट्न नदिई जगाउँदै थियो, कतै सडक सफा गर्दै थियो। जेन–जीको आत्मा भनेको जागरूकता र जिम्मेवारी हो।”

समूहले पत्रकार भेटमा सार्वजनिक गरेको ११ बुँदे माग यसप्रकार छन् :
हाल कायम रहेको संघीय संसद तत्काल विघटन।
राष्ट्रपति आह्वानमार्फत सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्ताव।
भदौ २३–२४ को जेन–जी प्रदर्शनमा घाइते तथा मृतक परिवारलाई न्याय र जिम्मेवार अधिकारीमाथि कारबाही।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रणाली पुनरावलोकन गर्दै समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित।
पाँच वर्ष निरन्तर सेवा गरेका योग्य व्यक्तिलाई राष्ट्रपतिमा मनोनयन गर्ने व्यवस्था।
निर्वाचन आयोगको पुनर्गठन र दल दर्ता तथा चुनाव चिन्हको समीक्षा।
संवैधानिक आयोगहरूलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने।
२०६४ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने।
शिक्षा, स्वास्थ्य, न्यायालय र सुरक्षा निकायलाई पार्टीगत प्रभावमुक्त बनाउने।
राष्ट्रिय अर्थतन्त्र सबल बनाउन स्पष्ट लक्ष्यसहित उद्योग, व्यापार र वैदेशिक लगानीको नीति तयार गर्ने तथा
देशलाई अस्थिरता तर्फ जान नदिन अन्तरिम सरकार गठन गरी सहयोग गर्न र देशलाई अघि बढाउन सबैसँग साथ दिन हामी आव्हान गर्दछौ भनेर पत्रकार भेटघाटमा जेनजी युवा हरूले वताएका छन ।

