पोखरा ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आज राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरिन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए, र यो प्रक्रिया संविधानको धारा ६१ अनुसार सम्पन्न भएको हो।
जेनजी आन्दोलनको बदलिँदो परिस्थितिलाई चिर्दै देशले पहिलो महिला प्रधानमन्त्री पाएको हो। छ महिनाभित्र निर्वाचन गर्ने गरी उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।
सपथ समारोहमा उनका श्रीमान् दुर्गा सुवेदी, उपराष्ट्रपति रामप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रपति सल्लाहकार सुनिल थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विदेशी कूटनीतिक समुदायका वरिष्ठ व्यक्तित्व उपस्थित थिए।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् गठन र कार्यविभाजनको निर्णय सार्वजनिक गर्दै प्रारम्भिक रूपमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाइ; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपालन; खानेपानी, गृह तथा परराष्ट्र; भूमि व्यवस्था; सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा, वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; संघीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास; स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालय हाललाई प्रधानमन्त्री कार्कीको प्रत्यक्ष मातहत रहने जानकारी दिएको छ।
यो कदमसँगै तत्कालीन संवैधानिक संकटको सम्भावना समाप्त भई देशलाई स्थिर नेतृत्व प्रदान गर्दै अगाडि बढ्न सकिने अवस्था बनेको छ ।
