पोखरा
पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा २०८२ साउन २४ गते राति करिब ७ बजेतिर दुई घरमा चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी चोरी गरिएका गरगहना र नगद रकम सार्वजनिक गरेको छ। घरभित्र कोही नभएको मौका पारी सुन, चाँदीका गहना र नगद रकम चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान गरेको हो।

अनुसन्धानका क्रममा रुपन्देही बुटवल उपमहानगरपालिका–९ घर भई हाल पोखरा–१४ बस्ने ३१ वर्षीय मोती गुरुङको कोठाबाट चोरीका सामग्री फेला परे। उनलाई नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा छड्के तिलहरी १ थान, रातो पोतेसहितका माइलि तिलहरी २ थान, रातो गेडीको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, झुम्का २ थान, फलामको छिनो १ थान, फलामको रड १ थान, चरेशको थाल २ थान, तामाको पाला (दियो) ४ थान र मोबाइल फोन १ थान , रकममा नेपाली रुपैयाँ रु. ३,५१३, कोरियन वोन, अमेरिकन डलर र मलेसियन मुद्रा पनि रहेको छ।

पोखरा–१४ क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ।
