पोखरा —
कास्की प्रहरीले वडा प्रहरी कार्यालय रामबजारको टोलीसहितको संयुक्त कारबाहीमा पाम अयल चोरी प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१०, औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रालिमा आपूर्ति गर्नुपर्ने पाम अयल (Palm Oil) तेलको सट्टामा पानी भरेर ल्याइएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीकाका अनुसार पक्राउ पर्नेमा बारा, जितपुरसिमरा–२२ अमलेखगञ्ज बस्ने ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय छविनाथ (शम्भु) गौतम र ३७ वर्षीय बुद्धिबहादुर लामाले ना.५ ख ७७०८ नम्बरको ट्रकमार्फत ल्याउँदै गरेको तेल बाटोमै चोरी गरी बिक्री वितरण गरेको खुलेको छ। तौल मिलाउनका लागि जर्किनमा पानी भरेको पनि प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट १८ थान पानी भरेका पहेंलो जर्किन र नगद १३ हजार रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
