पोखरा ।
पोखराको क्लब सिक्स्टीनमा शनिबार ‘द सिक्स्टीन सोडाउन’ प्रतियोगिता हुने भएको छ। साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
रेसलिङमा दुई चर्चित नेपाली रेसलर ‘नेपाली ब्रो’ कुमार थापा र ‘द युभ’ युवराज गिरीबीच प्रतिस्पर्धा हुनेछ।
अमेरिकामा पूर्वसैनिकका रूपमा काम गरेका थापा, जसलाई रेसलिङको दुनियाँमा ‘नेपाली ब्रो’ नामले चिनिन्छ, नेपाल वुमेन रेसलिङ फाउण्डेशन (NWWF) का क्रुजरवेट च्याम्पियन हुन्। उनले भारत, पाकिस्तान, अमेरिका र युरोपलगायतका देशमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्।
थापाले भने, ‘नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ, तर त्यसका लागि सुरक्षा र व्यावसायिक प्रशिक्षण अति आवश्यक छ।’
पोखराका युवराज गिरी हाल भारतमा बस्दै आएका छन्। उनले पाकिस्तान, भारत, रुस र चीनलगायतका देशमा रेसलिङ प्रतियोगिता जितिसकेका छन्। युवराजले काठमाडौंको लैनचौरमा वुमेन रेसलिङ इन्टरटेन्मेन्ट सञ्चालन गर्दै आएका छन्।
‘म आफूमा पूर्ण विश्वास राख्छु। आजको खेल पनि जित्नेछु। रेसलिङ नेपालको पहिचान बन्नेछ,’ गिरीले भने।
प्रतियोगितामा मुई थाई पनि समावेश गरिएको छ, जसमा १६ जना खेलाडी सहभागी हुनेछन्। प्रथम पुरस्कार ५० हजार रूपैयाँ निर्धारित गरिएको छ। प्रतिस्पर्धा लिग प्रणालीमा हुनेछ भने अन्तिम चरणमा उत्कृष्ट दुई खेलाडीबीच फाइनल खेल हुनेछ।
कार्यक्रम आयोजक सुजन रोकाले क्लब सिक्स्टीनलाई पोखराको खेलकुद र इभेन्ट हबको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिँदै जानेछन्।
उनले भने, ‘यस्ता प्रतियोगिताले नेपाली युवालाई अन्तर्राष्ट्रिय खेलकुदमा अघि बढ्ने प्रेरणा दिनेछन् र खेलकुदका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।’
