Saturday, November 8News That Matters

ढुङेसाघु–महतगौडामा स्थानीयवासीको रात्रिकालीन गस्ती सुरु

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


देशभरका स्थानीय तहहरूमा सुरक्षाको जिम्मेवारी जनस्तरसम्म झर्ने क्रम बढ्दै गएको छ। सरकारी सुरक्षानिकायहरूको सीमित उपस्थिति, कमजोर मनोबल र हालैका आन्दोलनका क्रममा लुटिएका हतियारका कारण स्थानीय तहमा असुरक्षाको वातावरण देखिन थालेपछि समुदाय आफैं सचेत बन्दै गएका छन्। यही पृष्ठभूमिमा पोखरा–१७ का ढुङेसाघु र महतगौडा बासिन्दाले पनि रात्रिकालीन गस्ती अभियान सुरु गरेका छन्।

दशैंअघि नै सुरु भएको यो अभियान अहिले निरन्तर चलिरहेको छ। स्थानीय गस्ती संयोजक नेत्र भण्डारीका अनुसार टोलका बासिन्दाले आफ्नो क्षेत्रलाई सात भागमा विभाजन गरी पालैपालो गस्ती गर्ने जिम्मा लिएका छन्। रातभर सानो समूहमा टर्च र बाँसका लठ्ठी बोकेर उनीहरू गल्लीगल्ली हिँड्छन्— कसैले शंका लाग्दो गतिविधि गरे तुरुन्त जानकारी दिने व्यवस्था छ। भण्डारी भन्छन्, “प्रहरीको मनोबल अहिले केही कमजोर देखिन्छ। यस्तो अवस्थामा हामीले आफ्नै टोल, परिवार र समुदायको सुरक्षाका लागि पहल गर्नु जरुरी छ।”

यस अभियानमा केवल युवा मात्र होइन, बृद्धबृद्धा र गृहिणीहरूको पनि उत्साहजनक सहभागिता देखिन्छ। कसैले गस्तीमा सघाउँछन्, कसैले रातको खाजा र चिया तयार पार्छन्। समुदायभित्र अब आपसी सहयोग, एकता र जिम्मेवारीको भावना बढेको छ। एक स्थानीय बासिन्दा बताउँछन्, “हामी सँगै हिँड्दा डर घट्छ, मनोबल बढ्छ। अहिले गाउँमा अनावश्यक आवतजावत पनि घटेको छ।”

रातको निस्वार्थ गस्ती केवल चोरी वा अपराध रोक्ने अभियान होइन, यो आत्मसुरक्षासँगै सामुदायिक एकताको प्रतीक बन्दै गएको छ। ढुङेसाघु र महतगौडाका बासिन्दाहरूको यो पहलले देखाएको सन्देश स्पष्ट छ— जब राज्य कमजोर देखिन्छ, जनता आफैं दृढ भएर अघि सर्छन्।

प्रतिकृया दिनुहोस