पोखरा,
कास्की प्रहरीले लागू औषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १७ गते साँझ करिब ८ बजे पोखरा तर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाईसबाट लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा सो गाडी रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा सो हाईसमा सवार पोखरा–३२ बस्ने ३७ वर्षीय विनोद ढकाल र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय विकास लामाको साथबाट ब्राउनसुगर (खैरो हिरोइन) जस्तो देखिने ३.८९ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए।
