जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना गराई फरार रहेका चालकलाई सवारी साधनसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२।०९।१० गते राति पोखरा महानगरपालिका–७ मुस्ताङचोक क्षेत्रमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिई फरार भएको थियो। दुर्घटनामा परी स्कुटर चालक स्याङ्जा फेदीखोला गाउँपालिका–३ का २० वर्षीय विवेक रानाभाट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मिति २०८२।०९।११ गते बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पछाडि सवार गोरखा सिरानचोक गाउँपालिका–१ का २० वर्षीय प्रविन गुरुङ घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

दुर्घटनापछि फरार रहेको बोलेरो जिप तथा चालकको खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–७ मासबार क्षेत्रबाट ग ३ च १९०३ नम्बरको बोलेरो जिपसहित चालक चितवन इच्छाकामना गाउँपालिका–३ का २० वर्षीय देवबहादुर गुरुङलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यस विषयमा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
