पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका अनुसार लागू औषध ब्राउन सुगरसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

२०८२ पुसको २४ गते करिब ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ९ क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले नयाँबजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरामा बस्दै आएका २७ वर्षीय संजय यादवलाई पक्राउ गरेको जनाएको छ। खानतलासी गर्दा उनको साथबाट कालो प्लास्टिकमा पोको पारी राखिएको ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिविरुद्ध लागू औषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिकृया दिनुहोस
