

“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने नाराका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजनामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। दुई दिने उक्त तालिम नेपाल पत्रकार महासंघ कास्की को सभाहलमा सञ्चालन गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रेस रजिस्ट्रार कार्यालय गण्डकी को सहयोग रहेको छ। तालिम कार्यक्रममा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रमको उद्घाटन प्रेस रजिस्ट्रार बिमला भण्डारी ले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले नयाँ तथा अनुभवी पत्रकारहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी खेलकुद पत्रकारितालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूलाई आफ्नो कलमलाई अझ तिखार बनाउन आग्रह समेत गर्नुभयो। कार्यक्रमका सभापति तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पत्रकारहरूलाई सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।

पत्रकारहरूले तालिमबाट सिकका कुरा व्यवहारमा लागू गर्न सके खेलकुद पत्रकारिता अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। तालिमको पहिलो दिन विभिन्न खेलका विज्ञहरूले प्रशिक्षण दिएका छन्। राजन पौडेल ले भलिबल खेलका नियम, प्रोटोकल र खेलको संरचनाबारे प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी जीवराम गुरुङ ले गल्फ खेलको आधारभूत जानकारी र आफ्ना अनुभव पत्रकारहरूसँग साझा गर्नुभयो। उहाँले गल्फ खेललाई राम्रोसँग बुझ्नका लागि व्यवहारिक अभ्यास आवश्यक पर्ने भएकाले आगामी दिनमा गल्फ कोर्समै थप नियम र अभ्यास सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैगरी क्रिकेटतर्फ देवेन्द्र सुबेदी ले क्रिकेट खेलका महत्वपूर्ण आधारभूत पक्ष, नियम तथा खेलको संरचनाबारे प्रशिक्षण दिनुभएको थियो।
आयोजकका अनुसार तालिम दुई दिनसम्म सञ्चालन हुनेछ र खेलकुद पत्रकारितालाई थप व्यावसायिक तथा प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमको सञ्चालन मञ्चका माहा सचिव परशुराम शर्मा ले गर्नुभएको थियो।

