पोखरा,
पोखराको सभागृहचोकमा भएको हत्या प्रकरणमा प्रहरीले संलग्न दुई जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न सन्तोष भन्ने शिशिर केसी र कुशल परियारलाई सार्वजनिक गरेको हो।
गत चैत २५ गते साँझ करिब ७ बजेर ६ मिनेटमा पोखरा–८ सभागृहचोक नजिक शिवालयचोक क्षेत्रमा ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीमाथि धारिलो हतियार प्रहार भएको थियो। आफ्नै पसल बन्द गरेर घर फर्कंदै गरेकी क्षेत्रीमाथि पछाडिबाट खुकुरी प्रहार गरिएको थियो।
गम्भीर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मुख्य अभियुक्त शिशिर केसी मृतककै भाञ्जा नाता पर्ने व्यक्ति हुन्। उनले साथी कुशल परियारको सहयोगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्तहरूले घटनाअघि नै सिर्जनाको निगरानी गरेका र अँध्यारो तथा एकान्त स्थान रोजेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग गरिएको स्कुटर पोखरा–७ मुस्ताङचोकबाट र खुकुरी पोखरा–१६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको छ।

कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार हत्याको मुख्य कारण पारिवारिक विवाद र अंशबण्डा सम्बन्धी किचलो रहेको देखिएको छ। मृतक सिर्जनाले करिब ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्। श्रीमान्को निधनपछि सम्पत्तिको विषयलाई लिएर परिवारभित्र लामो समयदेखि विवाद चल्दै आएको थियो।

प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएकोबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
