Friday, March 28News That Matters

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा

स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले पाँच हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । आगामी पुस ७ गते पोखरा ४ स्पोट्र्स क्यासलको फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए । फुटसलको लोकप्रियता बढेसँगै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न सानो राशीको भएपनि प्रतियोगिता आयोजना गर्न लागेको थापाले बताए । उनका अनुसार पुरुषतर्फको विजेताले ट्रफीमात्र प्राप्त गर्नेछन् ।

महिला तर्फ खुल्ला रहेपनि पुरुषतर्फ भने टिम दर्ता सम्पन्न भइसकेको उनले बताए । पुरुषतर्फ एनएसजेएफ, एफएनजे, एसडीएफपी र एसवाईसी फुटसल रहेका छन् । ‘फुटसलले शारीरिक रुपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यमा पनि आराम मिल्छ । फुटसल खेल्नेलाई मात्रै होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द हुन्छ’ उनले भने, ‘हामीले महिलाहरूलाई खेल्न, प्रतिस्पर्धा गर्न र खेलकुदमा सफल हुनका लागि थप अवसर सिर्जना गर्नु आवश्यक छ । सोही अनुरुप हामीले महिला फुटसल प्रतियोगिता गर्न लागेका हौँ ।’ प्रतियोगितालाई आगामी दिनमा थप स्तरीय बनाउँदै लैजाने योजना रहेको उनले सुनाए ।

प्रतिकृया दिनुहोस