कास्की प्रहरीलाई यतिबेला एउटा घटना निकै टाउको दुखाइको विषय बनेको छ । अनुसन्धानकै क्रममा रहेको कास्की प्रहरीले आशंका गरेका व्यक्ति यतिबेला फरार छन् । करिब एक महिनादेखी निगरानीमा रहेका एक पुरुष नेपाल भारत सिमा नजिक पुगेपछि निगरानीबाट बाहिर भए । अर्थात प्रहरीले मोबाइल लोकेसन ट्रयाक गर्दै फलो गरिरहेका पुरुषको मोबाइलै अफ भयो ।
घटना पोखराको हो । मंसिर ५ गते पोखरा ९ ,नागढुंगामा रहेको युनिक होटलमा एक महिलाको शव भेटियो । शव हेरेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको निस्कर्ष निकाल्यो । तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकु सोही होटल नजिकैको शिला रेष्टुराँमा काम गर्थिन् । ५ गते साँझ ६ बजेर ५० मिनेटतिर उनै सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । होटलमा पुगेर रुम बुक गरि एउटा वियर मगाउँछन् । उक्त कुरा होटल संचालकले प्रहरीलाई बयान दिएका छन् ।
सुकु सँग होटलमा गएका पुरुषले निलो रंङको हुट, टोपी र माक्स लगाएका थिए । तर होटलमा सिसिटिभी जडान नभएको कारण प्रहरीले बलियो प्रमाण पाउँन भने सकेन । नियम अनुसार सबै होटलमा पाहुँनाको नाम लेख्नुपर्ने भएतापनि उक्त होटलमा महिला र पुरुष दुवै जनाको नाम लेखिएको थिएन । सोही कारण पनि प्रहरीलाइ अनुसन्धान गर्न गाहे भएको स्रोत बताउँछन् । यता प्रहरीले निगरानीमा राखेको युवा भागेको प्रहरी स्रोतको दावी छ । केही अघि प्रहरीले फलो गर्दा उनी पोखराबाट मोबाइल अफ गरे ।
त्यसको २ दिनपछी नेपाल र भारतको बोर्डरमा गएर उनले मोबाइल अफ गरेको देखिन्छ । घटनाको पोष्टमार्टम रिपोर्टले सुकुको घाटीको हाड भाच्चिएको देखाएको प्रहरी सो्रतले बताएका छन् । स्रोतले घटनाको अनुसन्धान जटिल भइरहेको बताइरहँदा कास्की प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले घटनाको विषयमा अनुसन्धान भैरहेको बताए । उनले होटल संचालकहरु र अन्य केहीलाइ नियन्त्रणमा लिएपनि उनीहरु दोषी नरहेको भन्दै छाडिएको बताए ।
विकले घटना महिलाको हत्या कि आत्महत्या भन्ने नै एकिन नभएको सुनाए । स्थानीय फडानन्द लामिछानेले महिलाले लगाएको गहना र मोबाइल समेत नभएको घटना भएको भोलिपल्ट बताएका थिए । होटलमा सिसिटिभी नरहेको र अन्यत्रको सिसिटिभी हेर्दा हुलिया देखिएको उनले सुनाए । त्यतिबेला उनले भनेका थिए, ‘म खाना खाँदै थिएँ । घटना थाहा पाएपछि त्यहाँ पुग्दा कुकुरसहित प्रहरी थियो । होटलमा सिसिटिभी थिएन ।’