प्रकाश अधिकारी, पोखरा

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ द्वारा गरिएको विरोध कार्यक्रममा आज बिहानदेखि पोखरामा यातायात व्यवसायीहरूले सडकमा व्यापक आन्दोलन गर्दै ट्राफिकमा अवरोध उत्पन्न गरेका थिए। यस आन्दोलनले पोखराका केही सडक तथा मुख्य चोक—पृथ्वी चोक—अस्तव्यस्त देखिएको थियो, जसलाई व्यवस्थापन गर्न प्रहरीले विशेष चुनौतिहरूको सामना गर्नु परेको थियो।
आन्दोलनकारीहरूले आवतजावत गरिरहेका सवारी रोकेर अवरोध गरेका थिए भने इन्ड्राइभ वा पठाओले मान्छे ओसारपसार गरेको कारण असन्तोष व्यक्त गरेका थिए। यद्यपि, केही आक्रोशित समूहले पत्रकारहरूको क्यामेरा खोस्ने र उनीहरूसँग झम्टिने, हातपात गर्ने प्रयास गर्दा स्थिति झनै तनावग्रस्त बनेको थियो।
यातायात मजदूर संगठनका नेताहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए। उनीहरूले आन्दोलनकारीहरूलाई संयमित रहन, कसैको गाडीमा क्षति नगर्न, र जबरजस्ती नगर्न चेतावनी दिए पनि केही आन्दोलनकारी आक्रोशित देखिएका थिए, भने नेताहरूको चेतावनीले केही आन्दोलनकारीहरूलाई शान्त पार्न केही हदसम्म सफल भएको देखिएको थियो।
आयोजक नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको तर्फबाट महासंघका सचिव योगेन्द्र केसीले आफूहरू प्रदेश सरकारसँग वार्ता छलफलका लागि जान लागेको जानकारी गराउँदै विरोध कार्यक्रम स्थगित गरिएको हुँदा सबैलाई आ-आफ्नो घर जान आग्रह गरेपछि स्थिति केही शान्त भएको थियो।
सार्वजनिक सवारी यातायात बन्दका कारण केही समय यात्रुहरू अलपत्र परेका थिए। यात्रीहरूले सास्ती खेप्नु परेको थियो भने केही घण्टा असहज परिस्थिति सिर्जना भएको थियो।
[भिडियो हेर्न तल क्लिक गर्नुहोला (पत्रकारहरूलाई दुर्व्यवहार गरेको फुटेजसहित)
