पोखरा, साउन २६ —र्यान्डम रिडर्समा भण्डारीको ‘बोरा’ को चर्चा रिडर्स सोसाइटीले शनिबार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ। सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको विश्लेषण गर्नुभएको थियो।




पनेरूले ‘नाट्यसमालोचना’ को उद्देश्य प्रस्तुत गर्दै उपन्यासलाई आमाप्रति उच्च सम्मान जनाउने र आमालाई हेला गर्ने दृष्टिकोणको प्रतिनिधि भयेको बताउनुभयो। उहाँका अनुसार, “यो ममत्वको कथा हो,जहाँ मातृत्वको आरोह-अवरोहको कथा छ । यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा छ।” पनेरूले ‘बोरा’ लाई आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको महत्त्वपूर्ण कृतिका रूपमा चिनाउनुभयो।

पुस्तकका सूक्तिमय अर्थात उपदेशमूलक” वा “सारगर्भित” अथवा दार्शनिक लाईनका वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले बलियो बनाएको उहाँले उल्लेख गर्नुभयो।यहाँ धेरै गहिरो रूपी कला कृतिको दार्शनिक पक्षहरुको चर्चा गर्नुभएको थियो।
पत्रकार र उपन्यासकार अखण्ड भण्डारीले रिपोर्टिङका क्रममा भेटिएका यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताउनुभयो। पाठकहरूको प्रश्नको उत्तर दिँदै उहाँले उपन्यासका केही पात्रहरूको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्वीकार गर्नुभयो। परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने यथार्थविमुख हुन नसकिने धारणा उहाँले राख्नुभयो। उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको अनुभव उहाँले सुनाउनुभयो। भण्डारीको यसअघि ‘मलाया एक्सप्रेस’ र ‘समाचारको भाषा’ कृति प्रकाशित छन्।

कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, गनेस पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए। सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ, र ‘बोरा’को परिचर्चा सोसाइटीको १०८ औँ शृङ्खला हो।






















