खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलमा खेल पत्रकारको टिमले उपाधि जित्न सफल भएको छ।

पोखरा रंगशालामा शनिबार सम्पन्न यस खेलमा खेल पत्रकारको टोलीले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले पराजित गर्यो।

खेलको सुरुवातमा आत्मघाती गोलको कारण खेल पत्रकारको टिम १–० ले पछि परेको थियो, तर उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित निकालेको हो।

पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे, जबकि शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल थपे। मञ्चका लागि विरेन पुलामी मगर, अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १–१ गोल गरेका थिए।

खेलको सर्वोत्कृष्ट खेलाडीको उपाधि खेलकुद विकास मञ्चका कप्तान विक्रम थापाले जिते।

उदीयमान खेलाडीको पुरस्कार मञ्चकै राजु पुलामी मगरले प्राप्त गरे।

उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले जिते, उत्कृष्ट डिफेन्डरको उपाधि प्रवेश पोखरेलले, र उच्च गोलकर्ता उपाधि खेल पत्रकारकै निकोलस गुरुङले जिते।

गत वर्षको मैत्रीपुर्ण खेलमा खेलकुद विकास मञ्चले उपाधि जितेको थियो।