बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। बुधबार (आज) भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो।



यो बंगलादेशको पहिलो उपाधि हो। गत संस्करणमा भारतसँग अतिरिक्त समयमा ५-२ गोलले पराजित हुँदै बंगलादेश उपाधिबाट वञ्चित भएको थियो। त्यसअघि बंगलादेश सन् २०१७ मा नेपालसँग र २०१९ मा भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।
यसपालि भने बंगलादेशले घरेलु टोली नेपाललाई स्तब्ध पार्दै पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो।
बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा, ५४औं मिनेटमा, ७०औं मिनेटमा र खेल सकिन लाग्दा गोल गर्यो। ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याए। तर, नेपालले थप गोल गर्न नसक्दा बंगलादेश च्याम्पियन बन्न सफल भएको हो।
सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा विजय हासिल गरेर फाइनलमा प्रवेश गरेका थिए। नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो।
नेपाल सन् २०१७ पछि साफको उमेरसमूहको प्रतियोगितामा उपाधि जित्नका लागि निकै नजिक पुगेको थियो। यसअघि सन् २०१५ र २०१७ मा दुवै पटक फाइनल पुगेको नेपालले ती दुवै प्रतियोगितामा उपाधि जितेको थियो। तर, त्यसयताका तीन संस्करणमा भने नेपाल च्याम्पियन बन्न सकेको छैन।
नेपालले ९ वर्षअघि सन् २०१५ मा उमेरसमूहको साफको पहिलो संस्करण आयोजना गर्दा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। उक्त प्रतियोगिता पनि एन्फा कम्प्लेक्समै भएको थियो। सन् २०१७ मा भुटानको थिम्पुमा सिंगल राउन्ड रोबिनमा भएको साफ यु–१८ नेपालले बंगलादेशलाई गोल संख्यामा पछि पार्दै दोस्रो पटक उपाधि जितेको थियो।
नेपालले चार पटक साफ अन्तर्गतका उमेर समूहका प्रतियोगिता आयोजना गर्दा एकपटक सन् २०१५ मा उपाधि घरमै राख्न सफल भएको छ। सन् २०१९ र २०२३ मा नेपालमा प्रतियोगिता भए पनि च्याम्पियन भने भारत बनिरहेने क्रम तोडिएको छ।





















