Saturday, February 15News That Matters

आहा! रारा पोखरा गोल्डकप २४ औं संस्करण माघ २२ देखि फागुन ३ सम्म

यो समाचार शेयर गर्नुहोस्

पोरा

सहारा क्लब पोखराद्वारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता “आहा! रारा पोखरा गोल्ड कप” को २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ।  आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवराज बरालले मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) लाई सहभागिताका लागि आग्रह गरिएको र थप एक टोलीबारे छलफल भइरहेको उनले भने, “हामी यति बेला तयारीमा तीव्रता दिएका छौं। एमएमसीले सहभागिता जनाओस् भन्ने चाहन्छौं। तर, यदि सम्भव भएन भने अर्को उत्कृष्ट टोलीलाई सहभागी गराउने तयारीमा छौं।”प्रतियोगितामा ११ टोलीको इन्ट्री भैसकेको क्लब ले उक्त अवसरमा जानकारी दिएको छ ।

यस संस्करणमा विदेशीसहित नेपालका प्रतिष्ठित ए डिभिजन क्लबहरू, मोफसलका उत्कृष्ट टोलीहरू, र आयोजक सहारा क्लब पोखराको टोलीले प्रतिस्पर्धा गर्नेछन्। गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता श्री स्टार फुटबल क्लब रहेका थिए। विजेताले नगद १२ लाख १ हजार रूपैयाँ र उपविजेताले ६ लाख १ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।  

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नाराका साथ आयोजना हुने यो प्रतियोगिता २०५५ सालमा स्थापना भएको सहारा क्लब पोखराको प्रमुख परियोजना हो। यस प्रतियोगिताबाट संकलित रकम क्लबले सञ्चालन गरिरहेको “सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी” को विकास र विपन्न बालबालिकाको शिक्षादिक्षामा खर्च गरिन्छ। हाल एकेडेमीमा १६ जिल्लाका ३० बालकले निःशुल्क आश्रय, शिक्षा, र फुटबल प्रशिक्षण पाइरहेका छन्।  एकेडेमी संचालनमा मुख्य श्रोत यो प्रतियोगिता रहेकोले पनी आयोजले सहयोगको अपेक्षा गरेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक “हिमश्री फुड्स प्रा. लि.” को उत्पादन रारा चाउचाउ रहेको छ। संरक्षक पोखरा महानगरपालिका रहेको यस प्रतियोगिताका सह प्रायोजक “जयश्री फुड्स” को उत्पादन भान्छाघर बासमती चामल, र अन्य सहयोगी संस्थाहरू रहेका छन्। प्रतियोगिताका सबै खेलहरूको प्रत्यक्ष प्रसारण “हाम्रो खेलकुद” युट्युब च्यानलबाट हुनेछ।  

प्रतियोगितामा भाग लिने टोलीहरूमध्ये प्रमुख क्लबहरू:  

. त्रिभुवन आर्मी फुटबल क्लब  

२. श्री स्टार फुटबल क्लब  

३. मछिन्द्र फुटबल क्लब  

४. एनआरटी फुटबल क्लब  

५. संकटा फुटबल क्लब  

६. नेपाल पुलिस क्लब  

७. एपीएफ फुटबल क्लब  

८. एपी पावर चर्च ब्वाइज युनाइटेड क्लब  

९. थन्डर नर्थ युनाइटेड क्लब, सिक्किम  

१०. ब्रिगेड ब्वाइज क्लब यु.के.

११. सहारा क्लब पोखरा  

प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद पुरस्कार र मेडल प्रदान गरिनेछ। दर्शकहरूका लागि पनि प्रत्येक दिन भाग्यशाली पुरस्कारको व्यवस्था गरिएको छ। साथै, उत्कृष्ट पाँच विधामा विशेष पुरस्कार प्रदान गरिनेछ।  

यो संस्करणको अनुमानित आम्दानी १ करोड ५१ लाख रूपैयाँ छ भने खर्च १ करोड ४२ लाख २० हजार रूपैयाँ रहनेछ। बचत भएको रकम सहारा फुटबल एकेडेमीको सञ्चालनमा खर्च गरिनेछ।  

पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउन र नवप्रतिभावान खेलाडीलाई उभ्याउने यो प्रतियोगितालाई सफल बनाउन आयोजकले सबै तहका खेलप्रेमी र सहयोगी संस्थाहरूसँग सहकार्यका लागि अनुरोध गरेको छ। 

प्रतिकृया दिनुहोस