पोखरा
अध्यात्म, ध्यान, र योगको गहिरो अनुभूति गर्न चाहनेहरूको लागि पोखरामा “योग-प्रज्ञा साधना-१” कार्यक्रम माघ १६ देखि १९ सम्म विशेष रूपमा आयोजना गरिँदैछ। ओशोधारा संघ नेपाल ध्यान केन्द्र पोखराको संयोजनमा विजयपुरस्थित खेल मैदान नजिकको हाईड्रो पावर मुहान क्षेत्रमा चार दिनसम्म चल्ने यस कार्यक्रमले सहभागीहरूलाई आत्मिक शान्ति, मानसिक शुद्धता, र जीवनको गहिराइलाई बुझ्न नयाँ दृष्टिकोण प्रदान गर्नेछ।
कार्यक्रमको बारेमा आयोजित पत्रकार सम्मेलनमा आचार्य श्री ओशो अखण्डले पत्रकारहरूको जिज्ञासाको उत्तर दिनुहुँदै कार्यक्रमको उद्देश्य, विशेषता, र महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो “ध्यान र योग मानिसको जीवनलाई बाहिरी शोरबाट मुक्त गराएर आत्मिक शान्ति र आनन्दतर्फ डोर्याउने सशक्त माध्यम हो। ‘योग-प्रज्ञा साधना-१’ ले सहभागीहरूलाई आफूभित्रको सम्भावना चिन्न र जीवनलाई नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर्नेछ।”
यो साधना कार्यक्रम निशुल्क हुनेछ। अध्यात्मप्रति रुचि राख्ने जुनसुकै व्यक्तिले यसमा भाग लिनसक्ने बताउँदै, आचार्य श्री ओशो अखण्डले सबैलाई सहभागी हुन प्रेरित गर्नुभयो।
कार्यक्रमको गुणस्तर र सहभागिताको अनुभवलाई अझ प्रभावकारी बनाउन ३० देखि ५० जनासम्मको मात्र उपस्थिति सुनिश्चित गरिने पनी जानकारी दिनुभयो ।
उहाँले सम्मेलनमा भन्नुभयो “वास्तविक सुख बाहिरी भौतिकतामा होइन, आत्माभित्र लुकेको हुन्छ। ध्यान र योगको माध्यमबाट मानिसले आफ्नो भित्री यात्राको सुरुवात गर्न सक्छ।”
उहाँको मार्गदर्शनमा यो कार्यक्रमले मानिसहरूलाई भौतिक चिन्ताबाट अलग गर्दै आत्मिक आनन्दतर्फ डोर्याउने विश्वास गरिएको छ।
“योग-प्रज्ञा साधना ” अध्यात्मप्रेमीहरूको लागि मात्र होइन, मानसिक शान्ति खोजिरहेका व्यक्तिहरूका लागि पनि अनुपम अवसर हो। चार दिनसम्म चल्ने यस साधनाले आत्मज्ञान, शान्ति, र जीवनको गहिरो दृष्टिकोण प्रदान गर्नेछ। उक्त कार्यक्रममा दिक्षा सहितको पहिलो तहको चार दिवशिय अपुर्व कार्यक्रम रहनेछ ।

ओशोधारा संघ नेपालले यो साधनालाई मानिसहरूको जीवनमा साकारात्मक परिवर्तन ल्याउने ऐतिहासिक कार्यक्रमको रूपमा स्मरणीय बनाउने लक्ष्य लिएको छ।