Saturday, February 15News That Matters

टाइगर कप भलिवलको उपाधि महिला तर्फ आयोजक टाइगरग्रुपलाई र पुरुष तर्फ पुलिसलाई

यो समाचार शेयर गर्नुहोस्

टाइगर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले जितेको छ भने पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको छ।

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको हो। पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा गण्डकी भलिबल संघलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो।

हजारौं दर्शकमाझ भएको फाइनल खेलमा पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीसँग हार्नुपर्‍यो। पुलिसले चौथो सेटमा २५–२२ को जित निकाल्दै उपाधि हात पार्न सफल भयो। उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो।

यसैबीच, महिलातर्फको खेलमा पहिलो सेट १७–२५ ले गुमाएको आ टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भयो। तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले हात पार्‍यो। निकै प्रतिस्पर्धात्मक बनेको पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि हात पार्न सफल भयो। पहिलो पटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि रक्षा गर्न सफल भयो।

Dadaghatekhabar.com

उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता बनेको एपीएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो। माघ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित महिला तथा पुरुष गरी १२ टिम सहभागी भएको आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए। लिगका खेल लम्बिएका कारण प्रतियोगिता एक दिन लम्बिएर आइतबार सम्पन्न भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी गराए। भलिबल प्रतियोगितामा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएकोले आफूहरू थप उत्साहित भएको उनले जनाए।

पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र अम्फा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। पहल नेपाल पुलिस क्लबबाट तथा अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए।

सर्वोत्कृष्ट बनेका दुवै खेलाडीले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे। पुरुषतर्फ अन्य उत्कृष्ट खेलाडीहरूमा गण्डकीका रमनकुमार (उत्कृष्ट स्पाइकर), गण्डकीकै सञ्जुकुमार शाह (उत्कृष्ट सर्भर), विवश आलेमगर (उत्कृष्ट सेटर), पुलिसका रविन नगरकोटी (उत्कृष्ट ब्लकर), आर्मीका ईश्वर थापा (उत्कृष्ट लिबेरो) र पुलिसका चन्द्र कुँवर (उत्कृष्ट प्रशिक्षक) घोषित भए। महिलातर्फ एपीएफकी सरस्वती चौधरी (उत्कृष्ट स्पाइकर), एपीएफकी निरुता ठगुन्ना (उत्कृष्ट सर्भर), टाइगर ग्रुपकी अरुणा शाही (उत्कृष्ट सेटर), टाइगर ग्रुपकै नान्तिकान टुनिपो (उत्कृष्ट ब्लकर), न्यू डायमन्डकी सलिना श्रेष्ठ (उत्कृष्ट लिबेरो) र टाइगर ग्रुपका अर्जुन घिमिरे (उत्कृष्ट प्रशिक्षक) बने। विभागीय रूपमा उत्कृष्ट घोषित खेलाडीहरूले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे।

टाईगर कपमा लाज सरणम || पाडे ,बले ,दुर्गेसले माहोल || टाईगर गण्डकी पुलिसको खेल

प्रतिकृया दिनुहोस