Sunday, March 23News That Matters

आहा! रारा पोखरा गोल्डकप फाइनल: नेपाल प्रहरीलाई हराउँदै ब्ल्याक बुल्सको ऐतिहासिक जित

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपको फाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। सहारा क्लब पोखराको आयोजनामा शनिबार भएको यस महत्वपूर्ण फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न सफल भयो।

ब्ल्याक बुल्सका जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ, र साभकातजोन सात्तोरोभले गोल गर्दै टिमलाई सहज जित दिलाए। नेपाल पुलिस क्लबका लागि शिशिर चौधरीले सान्त्वना गोल गरे।

टेक्निकल्ली र ट्याक्टिकल्ली बलियो प्रदर्शन गरेको ब्ल्याक बुल्सले पहिलो हाफको ४० औं मिनेटमा खाता खोलेको थियो। नेपाल पुलिसका प्रज्वल चौधरीले ह्याण्ड गरेपछि ब्ल्याक बुल्सलाई प्राप्त फ्रिकिकमा जाखोनगिर अख्मादोभले उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। गोलरक्षक शत्रुधनको रोक्ने प्रयास असफल हुँदा बल नेटमा पुग्यो।

दोस्रो हाफको ५९ औं मिनेटमा असिलबेक ओरिफजोनोभले विपक्षी गोलकिपरलाई छलाउँदै दोस्रो गोल गरे। यस्तै, ६६ औं मिनेटमा साभकातजोन सात्तोरोभले तेस्रो गोल गर्दै ब्ल्याक बुल्सको जित सुनिश्चित गरे।

नेपाल पुलिसका लागि खेलको ७४ औं मिनेटमा शिशिर चौधरीले उज्वल राईको फ्रिकिकमा हेडमार्फत सान्त्वना गोल फर्काए। तर, थप गोल फर्काउन नसक्दा पुलिस क्लब उपाधि जित्ने अवसर गुमाउँदै उपविजेतामै सीमित रहन बाध्य भयो।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। साथै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए।

नेपाल पुलिस क्लबलाई पराजित गर्दै ब्ल्याक बुल्सले आफ्नो पहिलो सहभागितामै आहा! रारा पोखरा गोल्डकपको उपाधि जितेर नयाँ इतिहास रचेको छ।

आजको खेलको हाइलाइट भिडीयो एस्तो रहेको छ :-

प्रतिकृया दिनुहोस