Wednesday, April 30News That Matters

पोखरामा पत्रकार सुरेश रजकको हत्या र प्रेसमाथि आक्रमणविरुद्ध विरोध प्रदर्शन

यो समाचार शेयर गर्नुहोस्

राजावादी आन्दोलनका क्रममा एभेन्युज खबर टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखराको शहीदचोकमा विरोध प्रदर्शन र शोकसभा आयोजना गर्‍यो।

महासंघ कास्की परिसरबाट निस्किएको र्याली शहीदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो। पत्रकारहरूले सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरे। महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्त्व उल्लेख गर्दै अराजक समूहबाट भएको आक्रमणको निन्दा गरे।

विरोध सभामा विभिन्न पत्रकार संगठनका प्रतिनिधिले रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारप्रति समवेदना व्यक्त गरे। प्लेकार्डसहित प्रदर्शन गरेका पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रतिबद्धता जनाए।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले प्रेसमाथि आक्रमण र पत्रकार हत्या निन्दनीय भएको बताए। महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरे। उनले आगलागी भइरहेको घरमा ढोका थुनेर दमकललाई रोक्दै पत्रकारको हत्या गर्नु अमानवीय रहेको टिप्पणी गरे।

Dadagharekhabar.com

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महासंघको केन्द्रीय आह्वानमा प्रदर्शन गरिएको जनाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता र दोषीको तत्काल गिरफ्तारीको माग गरे।

विरोध सभामा प्रेस युनियन कास्कीका सभापति वासु मिश्र, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, प्रेस सेन्टर कास्कीका इन्चार्ज सन्देश श्रेष्ठ, समाजवादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, महासंघ कास्कीका सचिव भुपाल गुरुङलगायतले पत्रकार सुरक्षाको माग गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारलाई चेतावनी दिए।

https://www.facebook.com/share/v/1BNFyj5eSE
प्रतिकृया दिनुहोस