


पोखरा
हेमजा, कास्की – “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ” “आलु एक परिकार अनेक” भन्ने नाराका साथ १३औं राष्ट्रिय हेमजा आलु महोत्सव-२०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। पोखरा महानगरपालिका-२५, हेमजामा चैत्र २४ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सव आयोजना गरिँदैछ।

कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित महोत्सवमा आलुका अनगिन्ती परिकार, आलुको पहाड निर्माण, कृषि उपज प्रदर्शन तथा चर्चित कलाकारहरूको बेजोड प्रस्तुति हुने महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “महोत्सव कृषकको चाड हो।”

पत्रकार सम्मेलनका क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं. २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले हेमजालाई कृषि राजधानीको रूपमा विकास गर्न तथा यस्ता महोत्सवहरूले कृषि पर्यटनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आलु महोत्सव समग्र पोखराकै ब्रान्ड बनेको उल्लेख गर्नुभयो। महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पार्दै, पछिल्लो समय हेमजा महोत्सवमय बन्दै गएको बताउनुभयो। साथै, प्रवक्ता तिम्सिनाले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी लगायतले पनि आलु महोत्सवको प्रवर्द्धनमा जोड दिनुभएको थियो। उहाँहरूले आलु महोत्सवलाई अझ सुदृढ एवम् परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गर्नुहुँदै, कृषि उपजका नाममा महोत्सव हुनु आफैंमा महत्वपूर्ण भएको औंल्याउनुभयो।

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत मन्तव्य तथा महोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम सञ्चालन गर्नुभयो ।
महोत्सव अवधिभर विभिन्न रोचक कार्यक्रमहरू हुनेछन्, जसमध्ये कृषि झाँकी प्रतियोगिता, आलुका विविध परिकारहरूको प्रदर्शनी, कृषकहरूका लागि माटो परीक्षण तथा कृषि यन्त्रहरूको प्रदर्शनी प्रमुख आकर्षण हुनेछन्। यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक निराजन अधिकारीले महोत्सवको कार्यक्रमबारे विस्तृत जानकारी दिनुभएको छ।
हेमजाका २००० भन्दा बढी कृषक आलु खेतीमा संलग्न छन् भने १०५० कृषक व्यवसायिक रूपमा संलग्न छन्। आलु उत्पादनलाई आर्थिक रूपमा लाभदायक बनाउने तथा हेमजाको कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

स्थानीय कृषक, व्यवसायी, पर्यटक तथा सर्वसाधारणका लागि विशेष आकर्षण हुने यो महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन आयोजकहरूले सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।