

पोखरा
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ गतेदेखि पोखरामा दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिमशुक्रबार पत्रकार महासंघको हलमा सुरु भएको छ।
तालिमका प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले ऐन, कानुन र अदालती रिपोर्टिङका विविध विषयमा प्रशिक्षण दिनुभएको छ।
तालिम सहयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश तथा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको हो ।

कुइकेलले कानुन भनेको के हो, कसरी निर्माण हुन्छ, किन आवश्यक छ, सामाजिक तथा मानवीय व्यवहारलाई कानुनले कसरी नियमन गर्छभन्ने विषयमा प्रकाश पार्नुभयो। साथै, अदालती नजिर, राज्यको परिभाषा, कानुनी संहिताको तर्जुमा, अदालती शब्दावलीको प्रयोग र संकलन, कानुन निर्माणमा सैद्धान्तिक सहमति (बार्हबुँदे अवधारणा), पस्चातदर्शी तथा बाह्य प्रभावबारे विस्तृत जानकारी दिनुभयो। कानुनी ढाँचा, ऐन तर्जुमा गर्दा आवश्यक हुने परिच्छेद, दफा, उपदफा र तिनको रूपान्तरणबारे व्याख्यात्मक शैलीमा प्रशिक्षण दिइएको थियो।

त्यस्तै, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनी पक्षमा प्रशिक्षण दिनुभयो। वहाँले सञ्चार क्षेत्रमा देखिने समस्या, चुनौती, समाधानका उपाय, अनलाइन दर्ता प्रक्रिया, लोककल्याणकारी विज्ञापन कसरी प्राप्त गर्ने, र संस्थागत दर्ता प्रक्रियाबारे जानकारी दिनुभयो।

कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङको सञ्चालनमा सम्पन्न भएको हो। सोही अवसरमा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पत्रकारितामा आफ्नो अनुभव, भोगाइ र सम्भावित समस्याहरूको बारेमा जानकारी गराउनुभयो।

महासंघका अध्यक्ष माधव बरालले तालिममा पत्रकारहरूको उत्साहजनक सहभागिताले आफू खुशी भएको प्रतिक्रिया दिनुभयो।
प्रशिक्षण कार्यक्रम महासंघ कास्की शाखाका सचिव भूपाल गुरुङले सहजिकरण गर्नुभएको थियो भने कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार दिपेन्द्र श्रेष्ठ, पूर्व उपाध्यक्ष श्याम कुँवरलगायत विभिन्न सञ्चारगृहका पत्रकारहरूको उपस्थिति रहेको थियो।

वैशाख ५ र ६ गते सञ्चालन हुने दुई दिने तालिमको दोस्रो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष शिव गाऊँलेद्वारा प्रशिक्षण दिइनेछ।