
पोखरा
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ र ६ गते दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ। पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न तालिममा कानुनी प्रणाली, अदालती प्रक्रिया, खोज पत्रकारिता र न्यायिक संवादका विविध पक्षमा विज्ञ प्रशिक्षकहरूले गहन प्रशिक्षण दिएका थिए।

पहिलो दिनको तालिममा गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले कानुन के हो, किन आवश्यक छ, कसरी निर्माण हुन्छ, सामाजिक तथा मानवीय व्यवहारमा कानुनको भूमिका कस्तो हुन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले अदालती नजिर, राज्यको अवधारणा, कानुनी संहिताको तर्जुमा, बार्हबुँदे अवधारणा, बाह्य प्रभाव, ऐनको ढाँचा, परिच्छेद, दफा, उपदफा र लेखनशैलीमा विशेष जोड दिनुभयो।

त्यसैगरी, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनी चुनौतीहरू, अनलाइन दर्ता प्रक्रिया, लोककल्याणकारी विज्ञापन कसरी प्राप्त गर्ने, र संस्थागत दर्ताका चरणहरूबारे जानकारी दिनुभयो।
दोस्रो दिनको तालिममा, पोखरा उच्च अदालतका श्रेस्तेदार राजन खनालले देवानी र फौजदारी मुद्दाका दर्तादेखि फैसलासम्मका सम्पूर्ण चरणहरू फरियाद, निवेदन, अभियोजन, प्रतिवादी, मुद्दा प्रक्रिया, तारिख, म्याद, स्थगन, क्षेत्राधिकार, बहस, फैसलाजस्ता जटिल कानुनी प्रक्रियाहरू प्रष्ट पार्नुभयो। उहाँले जटिल कानुनी शब्दावलीलाई सरल भाषामा व्याख्या गर्दै पत्रकारलाई कानुनी समाचार लेखनमा सहजता ल्याउने उपायहरू प्रशिक्षणमार्फत प्रस्तुत गर्नुभयो।

त्यस्तै, तालिमको दोस्रो सेसनमा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष शिव गाऊँलेले कथात्मक शैलीमा अदालती रिपोर्टिङमा आधारित आफ्ना बर्षौ देखिको अनुभव बाँड्दै प्रशिक्षण दिनुभयो।
गाऊँलेले अदालती रिपोर्टिङलाई खोज पत्रकारिताको बलियो आधार भन्दै, अदालतलाई समाज, राजनीति र अर्थतन्त्रसँग जोड्ने थलोको रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो। “पत्रकारिता भनेको अनुसन्धान, अनुसन्धान र फेरि पनि अनुसन्धान हो,” भन्ने भनाइ उद्धृत गर्दै उहाँले अदालतमा आधार र प्रमाणसहितका ठूला समाचारको स्रोत पाइने स्पष्ट पार्नुभयो।

फौजदारी र देवानी मुद्दा, विशेष गरी घर, सम्पत्ति, नाता सम्बन्ध, बिच्छेद, जबर्जस्ती करणीजस्ता मुद्दाहरूमा अदालतमा खोज गरिनुपर्ने आवश्यकता औंल्याउँदै गाऊँलेले भन्नुभयो, “भाषा बुझ्न नसक्दा पत्रकारहरु अदालत प्रक्रियाबाट पछि परेका छन्, तर आजको तालिमले धेरै कुरा सिकाएको छ।”

उहाँले मिडिया ट्रायल, राजनीतिक पक्षधरता वा न्यायाधीश, वकिल र कर्मचारीको व्यक्तिगत स्वार्थमा आधारित समाचार नगर्न आग्रह गर्दै, तथ्यमा आधारित, गहिरो अनुसन्धानयुक्त समाचारलाई प्राथमिकता दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो।
तालिम महासंघ कास्की शाखाका सचिव भूपाल गुरुङको सहजिकरणमा सम्पन्न भएको हो। कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, महासंघका अध्यक्ष माधव बराल, पूर्व अध्यक्ष तथा सल्लाहकार दिपेन्द्र श्रेष्ठ, पूर्व उपाध्यक्ष श्याम कुँवर, पुर्व अध्यक्ष पुण्य पौडेल कास्की सल्लाहकार केशव लामिछाने लगायत विभिन्न सञ्चारगृहका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

पत्रकारहरूले तालिमले अदालती रिपोर्टिङप्रति नयाँ दृष्टिकोण दिएको र कानुनी प्रक्रियामा सहजता ल्याएको भन्दै तालिम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।