Sunday, May 18News That Matters

पोखरामा पत्रकारका लागि डिजिटल साक्षरता तालिम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्


पोखरा

वैशाख ११ देखि १३ गतेसम्म पोखरामा आयोजित ‘पत्रकारका लागि डिजिटल साक्षरता’ तालिम शनिबार सम्पन्न भएको छ। कार्यक्रम कोपिला नेपालले आयोजना गरेको हो भने नेपाल पत्रकार महासंघ कास्कीले समन्वय गरेको थियो।

तीन दिनसम्म चलेको यो तालिममा पोखराका २० जना पत्रकारहरूले सहभागिता जनाएका थिए। तालिममा प्रशिक्षक रजनीश भण्डारीले मोबाइल पत्रकारिता, मल्टिमिडिया प्रविधि, कान्भा फर जर्नालिजम्, फोटो पत्रकारिता, भिडियो सम्पादन तथा एआई पत्रकारिता सम्बन्धी ज्ञान तथा सीप प्रदान गरे। भण्डारीले पत्रकारितामा एआईको प्रयोगले काम अझ प्रभावकारी र सहज बनाउने बताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके पत्रकारिता क्षेत्र बलियो हुने धारणा राखे। उनले प्रविधिको तीव्र विकाससँगै पत्रकारले नयाँ चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता औंल्याए।

इन्टरनेशनल एलर्टकी कार्यक्रम अधिकृत प्रतिष्ठा थापाले पत्रकारिता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन तालिममार्फत सहकार्य गरिएको जानकारी गराइन्।

कोपिला नेपालका संयोजक तीर्थबहादुर थापाले संस्थाले बालबालिका, महिला सुरक्षा, मानसिक स्वास्थ्य र लैंगिक हिंसाका क्षेत्रमा गर्दै आएको कामबारे जानकारी दिएका थिए। उनले पछिल्लो समय लिभिङ रिलेसन सम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा पत्रकारहरूले सक्रियतापूर्वक कलम चलाउन आग्रह गरे।

कार्यक्रम कोपिला नेपालका संस्थापक महासचिव प्रकाशराज वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा सहभागी पत्रकारहरूले तालिमलाई उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस