
पोखरा
पोखरामा सम्पन्न ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ अन्तर्गत १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई भावुक वातावरणमा बिदाई गरिएको छ।

बिदाईको क्षणमा कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो। ‘प्यार से बोलेन’ भन्ने देवीको प्रिय भनाइ सम्झिँदै भक्तजनसहित आयोजकहरू भावुक बनेका थिए। त्यसबेला स्वयं देवीको आँखामा पनि आँशु टिल्पिलाएका थिए।
संकल्पकर्ता विजय कृष्णमूर्तिले देवीलाई फूलमालासहित पूजा गर्दै बिदाई गरे। देवी प्रतिभा र उनको टोलीलाई मानव सेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको हो।

बिदाई समारोहमा विजय कृष्णमूर्ति अत्यन्त भावुक बनेका थिए। अभिनन्दन पत्र पढ्दा भक्कानिएर पढ्नै नसक्ने अवस्थामा पुगे, जसले उपस्थित सबैको मन छोएको थियो।
देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन्। उनी शुक्रबार बिहान भारत प्रस्थान गर्दैछिन्, जहाँ आइतबारदेखि झारखण्डमा कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

यसबीच, संकल्पकर्ता विजय कृष्णमूर्तिले आगामी जेठ १० देखि १६ गतेसम्म देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको स्पष्ट पारेका छन्। जेठमा पुनः ल्याउने भनाइले भक्तजनमा उत्साह थपेको छ।
कथा समापनतर्फ जाँदै गर्दा देवी प्रतिभाले भक्तजनलाई सोधिन् —
“यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरू प्रसन्न हुनुभो?”
यसमा भक्तजनले उच्च स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर अन्य कथा पनि सुनाउनुहोस्’ भन्ने प्रतिक्रिया जनाए।

अबको चरणमा भारतका चर्चित युवा दार्शनिक तथा कथा वाचक प्रशान्त कृष्ण परांकुशले रामकथा वाचन गर्ने कार्यक्रम रहेको छ, जसको जानकारी मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचार संयोजक लेखराज ढकालले दिएका छन्।
