Tuesday, January 20News That Matters

गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, रक्तदानले सामाजिक सद्भावलाई दिएर नयाँ आयाम

यो समाचार शेयर गर्नुहोस्

पोखरा

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आइतबारदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्ना झाँकी र संगीत समूहसहित प्रवचन सुरु गरेका छन्। उनले आगामी जेठ ३ गतेसम्म सात दिनसम्म धर्मकथा वाचन गर्ने कार्यक्रम रहेको छ।

यसअघि शनिबार वाल्मीकि श्रीराम कथा वाचक आचार्य पं. प. पराकुशजीको विदाईपछि पोखरेलको प्रवचन आरम्भ गरिएको हो। महायज्ञमा प्रत्येक दिन भक्तजनको उल्लेखनीय सहभागिता देखिएको छ।

महायज्ञको अवसर पारेर आयोजना गरिएको नियमित रक्तदान कार्यक्रममा आइतबारसम्म दुई सयभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। आयोजकका अनुसार महायज्ञमा सहभागी भक्तजनहरूलाई “जे जति सकिन्छ, केही न केही सहयोग गरौं” भन्ने भावना जागृत गराउन रक्तदान कार्यक्रम राखिएको हो।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्ण मूर्तिले सबैलाई रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन आग्रह गर्दै भने, “सबैभन्दा ठूलो दान रक्तदान हो – यस पुण्य कार्यबाट नछुटौं।”

आजको बुद्ध पूर्णिमाको अवसरमा कोटिहोम परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन तथा सांसद किरण शाहसहित विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। विशेष समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, धार्मिक प्रवचन, र समाजका विविध धर्मगुरुहरूको मन्तव्य रहने कार्यक्रम तय गरिएको छ।

महायज्ञले धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्य लिएको आयोजकले जनाएका छन्। हिन्दू, बौद्ध, किरातलगायत सम्प्रदायका सन्त, महात्मा र धर्मगुरुहरूको उपस्थितिलाई समेत महायज्ञले स्वागत गरेको छ।

बालयोगेश्वर विजयश्रीकृष्ण मूर्तिले धर्मको परिभाषा स्पष्ट पार्दै भनेका छन्, “धर्म विभाजनको होइन, समन्वयको विषय हो। सबै धर्महरू एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा पुगेर विलीन हुन्छन्।”

त्यस्तै, देशभरबाट आएका तीन सयभन्दा बढी भजन समूहहरूले सहभागिता जनाएको भजन प्रतियोगिता महायज्ञको अर्को आकर्षण बनेको छ। आइतबारसम्म ५५ समूहले भजन प्रस्तुत गरिसकेका छन्, जसमा विभिन्न झाँकी, सांस्कृतिक पहिरन र विविध जिल्लाका प्रस्तुतिहरूले भक्तजनहरूको ध्यान तानेको छ।

प्रतिकृया दिनुहोस