
पोखरा
पोखराको गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत जेठ ११ गतेदेखि राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा हुने प्रतियोगिताबारे जानकारी दिँदै संयोजक तथा पब्लिक स्पिकर, मोटिभेटर, शिक्षा एवं संस्कृतिविद् डा. तुलसी प्रभास खनालले विद्यार्थीलाई संस्कृति र वाक्चातुर्यमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए।
उनका अनुसार सुरुमा जेठको पहिलो साताबाट प्रतियोगिता गर्ने योजना थियो, तर कक्षा १२ को परीक्षा र अभिभावकहरूको अनुरोधका कारण जेठ ११ बाट सुरु गर्ने निर्णय गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ।
प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन्। साथै, एसईई र कक्षा ११ को परीक्षा सकेका विद्यार्थीहरू पनि सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले रु ५१,१५१, दोस्रो स्थानले रु ४१,१४१, तेस्रो स्थानले रु ३१,१३१ र सान्त्वना पुरस्कार स्वरूप रु २१,१२१ प्राप्त गर्नेछन्। साथै, सहभागीहरूलाई विविध सम्मान पनि प्रदान गरिनेछ।
प्रतियोगितामा देशका ख्यातिप्राप्त पब्लिक स्पिकरहरूबाट विशेष प्रवचन र मोटिभेसन हुने र पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी, नवलपुरकी मनिषा पौडेल लगायतलाई अतिथि वक्ताको रूपमा सम्मान गरिने संयोजक खनालले जानकारी दिए।
देशभरका करिब १०० भन्दा बढी विद्यार्थीले अहिलेसम्म नाम दर्ता गराइसकेको जनाइएको छ। प्रतियोगिताको समय ७ मिनेट तोकिएको छ र वक्ताले सकारात्मक सन्देश दिनुपर्नेछ। एउटै विद्यालयबाट धेरै विद्यार्थी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
खनालले कोटिहोम महायज्ञ धर्म र संस्कृतिसँगै शिक्षालाई समेत जोड्ने प्रयासस्वरूप यो प्रतियोगिता ल्याइएको बताए। कास्की बाहिरबाट सहभागी हुनेका लागि आवागमन खर्च र बसोबासको व्यवस्था गरिएको छ।
महायज्ञका संकल्पकर्ता बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका अनुसार २०८३ सालको अन्त्यतिर पोखरामा पुनः भव्य महायज्ञ आयोजना गरिनेछ, जसमा १००० भन्दा बढी धार्मिक संस्थाहरू सहभागी हुनेछन्।
महायज्ञ अवधिभर चर्चित कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। जेठ १ मा गायिका एलिना चौहान, २ गते पूर्णकला बिसी, ३ गते नन्दकृष्ण जोशी, ४ गते रमेश सापकोटा, ५ गते राजु ढकाल, ६ गते पल्पसा डंगोल ‘चम्सुरी’, र २४ गते महानायक राजेश हमालको विशेष उपस्थिति रहने जनाइएको छ।
हाल पं. दिनबन्धु पोखरेलले आफ्नो झाँकी र संगीत समूहसहित ७ दिन कथा वाचन गरिरहेका छन्। साथै, राष्ट्रिय भजन प्रतियोगिता, रक्तदान, चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, तुला दान, रुद्राभिषेक लगायतका धार्मिक क्रियाकलापहरू समेत सञ्चालनमा छन्।
महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणहरूद्वारा दैनिक आहुति दिइँदैछ। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार, श्रद्धालुहरूले हवन सामग्री दान गर्ने, कुण्ड परिक्रमा गर्ने लगायतका धार्मिक कार्यमा सहभागी हुन सक्नेछन्।
जेठ १४ देखि २२ गतेसम्म राधिका दासी, देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराज लगायत विशिष्ट व्यक्तित्वहरूको कथा वाचन र प्रवचन हुने जनाइएको छ।
कोटिहोम कार्यक्रम पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर र आसपासको क्षेत्रफलमा सञ्चालनमा छ र जेठ २६ गतेसम्मजारी रहनेछ।
