
पोखरा
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चर्चित लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट संघ नेपाल (क्यान) सँगको केन्द्रीय सम्झौताबाट यसपटक अलग रहने निर्णय गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै भनेका छन्,
“धेरै सोचविचारपछि मैले क्यानको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेको छु। यो कुनै टाढिने कदम होइन, बरु व्यक्तिगत र व्यावसायिक रूपमा अझ सक्षम हुने दिशातर्फको यात्रा हो।”
सन्दीपले यो निर्णयलाई आफ्नो देशप्रतिको समर्पणबाट टाढिएको भनेर बुझ्न नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन्:
“नेपालका लागि म पहिलेजस्तै समर्पण, उत्साह र जिम्मेवारीका साथ खेलिरहनेछु। जीवन परिवर्तनशील छ—अबको यात्रा क्रिकेटसँगै नयाँ मोड लिन्छ।”
तर सन्दीपको यो पोस्टपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। स्टाटसमा २६ हजारभन्दा बढी लाइक, २७३ सेयर र २४ सयभन्दा बढी कमेन्ट आएका छन्। धेरै प्रशंसकहरू चिन्तित देखिएका छन् भने केही आक्रोशित र निराश।
समर्थक बिक्रम थापा लेख्छन् -“सन्दीप क्यानको राजनीतिमा परे। कोर क्याप्टेनका रूपमा अपराजित कप्तानलाई किन बेवास्ता गरियो? हामीलाई धोका भयो।”
यस्तै अर्का समर्थक “Go Wind Go” लेख्छन्-“तिमीले देशका लागि धेरै गर्यौ। तर केहीको स्वार्थका कारण तिमीलाई पन्छाइएको छ। अरु देश गएर खुशीसँग खेल। हामी तिमीलाई जहाँ भए पनि समर्थन गर्छौं।”
कुराकानी र कमेन्टहरू हेर्दा लाग्छ—सन्दीपप्रतिको जनसमर्थन अझै बलियो छ, तर पहिलाजस्तो एकढिक्का उत्साह केही कमजोर देखिन थालेको छ। धेरैले यो निर्णयलाई व्यक्तिगत स्वतन्त्र अवसर भनेका छन्, तर क्यानप्रतिको असन्तुष्टि पनि तीव्र देखिन्छ।
अब सबैको नजर सन्दीपको आगामी यात्रातर्फ तानिएको छ—उनी नेपालकै तर्फबाट निरन्तर बलियो प्रदर्शन गर्नेछन्, कि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा आफ्नो क्षमताको नयाँ परिभाषा दिनेछन् यो भने आगामी दिनहरुले बताउने छ ।
