
पोखरा
पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा पछिल्ला केही महिनायता ताला फोरेर गरिने चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ती घटनाहरूको पछाडि रहेको गिरोह पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो। सोही अनुसन्धानको क्रममा घरमा कोही नभएको मौकामा ताला फोरेर सुनचाँदीका गहना तथा नगद रकम चोर्ने एक संगठित समूह पक्राउ परेको छ।


कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले घटनाबारे जानकारी दिँदै बताए, “पक्राउ परेकाहरू सुवास विक उर्फ कट्टप्पाको नेतृत्वमा रहेका आफन्तहरूसँग मिलेर चोरी र डकैतीमा संलग्न थिए। गिरोहमा रहेका बिमल विक, सुरेश विक र गणेश सुनार सबै सुवासकै नातेदार हुन्, जसमा कोही फुपूको छोरा, कोही ठुलोबुवाको छोरा र कोही मामा तर्फका नातेदार छन्।”

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी गरेका थिए। यिनले छानेका अधिकांश घरहरू खाली भएको बेला तथा सीसीटीभी नभएको स्थानहरू हुन्। चोरीका क्रममा उनीहरूले विशेषगरी सुनचाँदीका गहना र नगद रकम मात्रै लक्षित गर्थे।

यसैबीच, कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूको साथबाट १२ तोला ८ लाल बराबरको सुनका गरगहना र २४ तोला बराबरको चाँदीका गरगहना बरामद गरिएको जानकारी दिए। साथै, चोरी गरिएका गहना गाल्न प्रयोग गरिने निम्पल, चिम्टी, गाँजा पिस्न प्रयोग गरिने बट्टा र फलामको रडसमेत फेला परेको उनले बताए।

प्रहरीका अनुसार, चोरिएका गहना सुवास विकका मामा दुर्गा बहादुर थापाको मार्फत व्यवस्थापन हुने गरेको पाइएको छ। चोरी गर्न प्रयोग गरिएको मोटरसाइकल र स्कुटरसमेत फेला पारिएको छ। तीमध्ये एक मोटरसाइकल सुवासका दाजु नरबहादुर विकमार्फत प्राप्त गरिएको थियो, जो हाल हातहतियार तथा खरखजना मुद्दामा कारागारमा छन्।

हाल पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। प्रहरीले अनुसन्धान अझ विस्तार गरिने र घटनाको छानबिन अझ कडा पारिने जनाएको छ।

भिडियो सहित हेर्नुहोस :-
