Tuesday, January 20News That Matters

ट्राफिक लाइटमा समस्या आयो, सवारी चालक पैदलयात्रीलाई झुक्यायो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

आइतबार । पोखरामा जडान गरिएका ट्राफिक लाइट बिग्रिएर आवश्यकता अनुसार नियमित संकेत नगरेकै कारण पैदलयात्री र सवारी चालकलाई आवतजावतमा समस्या परेको छ।
पोखराको मुख्य चोक पृथ्वीचोकमा जेब्राक्रस ट्राफिक लाइटले काम नगरेपछि जेब्राक्रसबाट बाटो काट्ने पैदलयात्री अलमलमा पर्ने गरेका छन्।
हरियो बत्ती बलेपछि मात्रै बाटो काट्ने भनी पर्खिरहेका कतिपय यात्रु झुक्किएर पर्खिरहनु परेको पृथ्वीचोकमा व्यापार गरी बस्ने स्थानीय व्यापारी साथै पैदलयात्रीहरूले समेत बताएका छन्।
नयाँबजारतर्फ जाने सडकमा दायाँतर्फ रहेको एउटा ट्राफिक लाइट रातो बलिरहेको छ भने बायाँतर्फको हरियो–रातो बलिरहेको देख्न पाइन्छ।
यसैगरी पृथ्वीचोकबाट चाइनापुल हुँदै नागढुङ्गा तर्फ जाने सडकमा ट्राफिक लाइटले काम नगरेपछि सवारी चालक तथा यात्रुहरू झुक्किने गरेका छन्।
जसले गर्दा कुनै पनि समयमा ट्राफिक लाइटकै कारण गम्भीर दुर्घटना हुन सक्ने खतरा देखिएको छ।
यदि ट्राफिक लाइटकै कारण झुक्किएर सवारी दुर्घटना भई जनधनको क्षति भएमा कसले जिम्मेवारी लिने भन्ने प्रश्न उठेको छ।
कास्की जिल्ला ट्राफिक प्रहरी प्रमुख शोभा पाण्डे भने ट्राफिक लाइटले ठीक काम नगरेकै कारण आम नागरिकको भनाइ खानु परेको दुःखेसो पोख्दै सम्बन्धित निकायलाई वारम्बार भनेको भए तापनि समयमै ट्राफिक लाइट मर्मत सम्भार नगरेकै कारण कतिपय अवस्थामा दुर्घटना हुने खतरा बढेको बताउनुहुन्छ।
उहाँले ट्राफिक लाइट जडान गर्ने कम्पनीसँग समेत सम्पर्क गरी स्थलगत अवलोकन गर्न र समस्या बारे जानकारी गराइसकेको भए तापनि अझै ट्राफिक लाइट समस्या हल हुन नसकेकै कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको बताउनुहुन्छ। पोखराका चोकमा ट्राफिक लाइट जडान गर्ने कम्पनी इन्जिनियर यज्ञ रेग्मीले भने ,चट्याङले गर्दा ट्राफिक लाइट चिप्स सट भएकै कारण ट्राफिक लाइटमा समस्या आएको जानकारी गराउनु भयो ।
रेग्मीले ट्राफिक लाइट चिप्स नेपालमा नपाइने हुदा छिमेकी राष्ट्र भारत बाट मगाएको केही समयपछि आउने वताउनु भयो।
यसरी महिनौ दिन सम्म ट्राफिक लाइटमा समस्या आउदा पनि कुनैपनि निकायको ध्यान नजानु र समयमा नबन्नुले चौतर्फी रुपले सरकार र स्थानीय निकाय समेत आलोचित बन्न पुगेको छ।
पोखरामा रहेका सबै चोकमा ट्राफिक लाइट कहिले सञ्चालन हुन्छ र भएका लाइटमा देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने कुराको अझै कुनै टुङ्गो छैन।

डिभिजन सडक कार्यालयसँग यसबारे जानकारी लिन खोज्दा डिभिजन सडक कार्यालयले भने यातायात व्यवस्था विभाग अन्तर्गत पर्ने हुँदा आफ्नो कार्यालय केही गर्न नसक्ने जनाएको छ।
यसबारे पोखरा महानगरपालिका ट्राफिक फोकल पर्सन शिशिर ढकालले आफू यस कार्यक्षेत्रमा भरखरै आएको बताउँदै ट्राफिक लाइटमा समस्या आए नआएको बारे अनभिज्ञता प्रकट गरे।
पोखराकै महत्वपूर्ण व्यापारीक चोक महेन्द्रपुलमा रहेको ट्राफिक लाइट लामो समयसम्म किन सञ्चालनमा आएन भन्ने हाम्रो जिज्ञासामा प्रविधि उपकरणकै कारण रोकिएको हुँदा यो आर्थिक वर्ष बन्न नसक्ने बताउँदै आगामी आर्थिक वर्षमा बनाएर सञ्चालनमा ल्याउने जानकारी गराए।
यसो त ट्राफिक लाइट जडान भएको वर्षौँ दिन बित्न लाग्दा पनि कतिपय चोकमा ट्राफिक लाइट सञ्चालनमा छैनन् भने सञ्चालनमा रहेका ट्राफिक लाइट समेत पटकपटक बिग्रँदै गएका छन्।

प्रतिकृया दिनुहोस