
पोखरा,
पोखरामा आयोजित गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभाको आगमन हुने भएको छ। भक्तजनको आग्रह र आयोजकको पहलमा उनी फेरि एक पटक आफ्नो कोकिल स्वरमा श्रीमद्भागवत कथा प्रस्तुत गर्न आउँदैछिन्।
देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म कोटिहोमको पावन मञ्चबाट कथा वाचन गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। यसअघि १४ दिनसम्म कथा वाचन गरेर श्रोताको मन जितेकी देवी प्रतिभाको कथा शैली यति प्रभावशाली रह्यो कि उनको विदाइको दिन धेरैको आँखाबाट आँसु बगेको थियो।
उनको ‘प्यार से बोलो ना’ भन्ने शैली, भावपूर्ण कथा, र आध्यात्मिक ऊर्जाले महायज्ञस्थल गुञ्जायमान हुने विश्वास गरिएको छ। यति मात्र होइन, उनी कथा वाचनमा कहिले भावुक बनाउँछिन्, कहिले कोमल हास्य छर्छिन्, जसले श्रोतालाई मन्त्रमुग्ध बनाउँछ।
यसपटक कोटिहोममा भागवत मञ्जरी राधिका दासीको पनि विशेष उपस्थिति रहनेछ। सामाजिक क्षेत्रमा क्रियाशील र कथा वाचनमा पारंगत राधिकादासीले जेठ १४ देखि २२ सम्म कथा प्रवचन गर्नेछिन्। राधिकादासीले भन्नुभयो, “कोटिहोमजस्तो सांस्कृतिक र आध्यात्मिक कार्यक्रम देशमै दुर्लभ छ। यहाँको सहभागिता जीवनभर सम्झनलायक हुनेछ।”
कोटिहोम केवल धार्मिक कार्यक्रम नभएर सामाजिक र सांस्कृतिक चेतनाको केन्द्र पनि बनेको छ। विभिन्न जात–जातिका सांस्कृतिक झाँकी, थाली नृत्यदेखि भजन, देवलीला र नृत्य नाटिकासमेत प्रस्तुत भइरहेका छन्। ४ सयभन्दा बढी विद्यार्थीहरूले कोटिहोमको दर्शन गरिसकेका छन्।
मानव सेवा फाउन्डेसनको आयोजनामा सञ्चालित यस महायज्ञबाट ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको सहयोगार्थ पनि संकलन भइरहेको छ। साथै, व्राह्मणद्वारा चौरासी पूजन, सवा करोड शिवलिङ्ग निर्माण, तुला दान, दीप प्रज्वलनजस्ता पुण्यकर्ममा हजारौं भक्तजन सहभागी भइरहेका छन्।
कोटिहोमले पोखरालाई अध्यात्मिक गन्तव्यको रूपमा पुनः स्थापित गर्दैछ। जेठ १४ देखि २२ सम्म देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराजजस्ता आध्यात्मिक वक्ताहरूको सहभागिताले कार्यक्रमलाई अझ समृद्ध बनाउनेछ।
पोखरा १७ स्थित सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
