
पोखरा
गण्डकी प्रदेशको पुरानो र सक्रिय कला संस्था सिर्जनशील कलाकार समूहले दोस्रो गण्डकी प्रज्ञा प्रतिष्ठानको गठनमा ललितकला क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।

समूहले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालाई सोमबार बुझाएको ज्ञापनपत्रमार्फत पहिलो प्रतिष्ठान गठनमा ललितकला क्षेत्रलाई उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
ज्ञापनपत्र अनुसार, २०२८ देखि सक्रिय रहेको सिर्जनशील कलाकार समूह वि.सं. २०५६ मा स्थापना भएको गण्डकी प्रदेशकै सबैभन्दा पुरानो र सक्रिय गैर–नाफामूलक कला संस्था हो। यसले कलाको विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र नयाँ कलाकारको प्रोत्साहनमा निरन्तर योगदान दिँदै आएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठानजस्तो महत्वपूर्ण संरचना गठन गर्दा ललितकला क्षेत्रको उपस्थिति नहुनु अन्यायपूर्ण छ। अब बन्ने दोस्रो गण्डकी प्रज्ञा प्रतिष्ठानको गठनमा कुलपति, उपकुलपति वा सदस्य–सचिवमध्ये कम्तीमा एक पद ललितकला क्षेत्रबाट नियमपूर्वक नियुक्त गरी न्यायपूर्ण तरिकाले समावेश गरिनुपर्छ।”
ज्ञापनपत्र सिर्जनशील कलाकार समूहका अध्यक्ष दल बहादुर गुरुङले मन्त्री थापालाई हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा कलाकारहरू प्रकाश अधिकारी, गोपाल श्रेष्ठ, झबिन्द्र गुरुङ, शिव शेर्पाली, हरेराम जोजिजु, पदम घले, नगेन सिङ, बाबुराम बास्ताकोटी, देवेन्द्र गुरुङ र आकास गुरुङ उपस्थित थिए।

ज्ञापनपत्रको प्रतिलिपि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटा र गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई समेत पठाइएको छ।
