Friday, January 16News That Matters

पोखरामा एमाले र माओवादी नेतृत्वको जुहारी : ओली र बस्नेतको कटाक्ष, प्रचण्डको चेतावनी

यो समाचार शेयर गर्नुहोस्

पोखरा नेकपा एमाले र माओवादी केन्द्रबीच चर्को आरोप-प्रत्यारोपका बीच पोखरा राजनीतिक बहसको केन्द्र बनेको छ। राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशन र माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले पोखरालाई राजनीतिक रंगमञ्च बनाइदिएको छ।

यही कार्यक्रममा एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डमाथि सत्ता नपाएको झोकमा देश दौडाहामा निस्किएको आरोप लगाउनुभयो। “मान्छे र वनमान्छेको जति फरक छ, केपी ओली र प्रचण्डको त्यति नै फरक छ,” भन्दै बस्नेतले प्रचण्डको अभियानमाथि प्रश्न उठाउनुभयो।
यता, प्रचण्डले पनि जवाफ फर्काउन पछि परेनन्। प्रचण्डले ओलीप्रति व्यंग्य गर्दै भन्नुभयो, “यदि प्रधानमन्त्री ओलीले मलाई राजावादीसँग मिलेको भनेका हुन् भने, म उनलाई एक पटक मानसिक अस्पताल जान सुझाव दिन्छु।”



प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले भने आफूहरूको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ जनताको पीडा बुझ्ने अभियान भएको उल्लेख गर्दै सरकारलाई चेतावनी दिनुभयो—“हामीले संकलन गरेका सुझाव र मागहरू सरकारले सम्बोधन नगरे आउँदो बजेटपछि आन्दोलनको बाटो रोज्छौं। सडक, सदन र जनताको मोर्चाबाट प्रतिरोध हुनेछ।”
यस्तै, ओलीले पूर्वराजाको कुण्डली हेरेर राजतन्त्र फर्कने जस्ता टिप्पणीको खण्डन गर्दै थपे, “पूर्वराजाको कुण्डली हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ। अब राजतन्त्र फर्कने कुरा भ्रम हो, सपना देख्न पनि नहुने समय हो।” उहाँले एमालेमाथि चौतर्फी आक्रमण भइरहेकाले सबै देशभक्तहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

राजनीतिक तापक्रम चुलिंदै गएको पोखरामा दुई नेताबीचको यो वाकयुद्धसँगै दलहरूले आ-आफ्ना एजेन्डा अघि सारिरहेका छन्। एकातर्फ एमाले सत्ता र स्थायित्वको रक्षाका पक्षमा उभिएको बताइरहेको छ भने अर्कातर्फ माओवादी केन्द्र जनताका गुनासो लिएर सरकारलाई घचघच्याउँदै आन्दोलनको चेतावनी दिइरहेको छ।

Dadagharekhabar.com

यसैक्रममा, शनिबार बिहान चिप्लेढुंगामा हुने भनिएको माओवादी केन्द्रको बृहत जनसभा मौसम प्रतिकूलताका कारण स्थान परिवर्तन गरिएको ने.क.पा. (माओवादी केन्द्र) गण्डकी प्रदेश कार्यालयले सूचित गरेको छ।। अब कार्यक्रम “जनसंवाद कार्यक्रम” को रूपमा पोखरा–१२, माटेपानीस्थित एस.आर.के.सी. क्याटरिङ पार्टी प्यालेसमा बिहान ११:३० बजेहुने भएको खबर प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस