प्रकाश अधिकारी,पोखरा

“सूचना मागौं: भ्रष्टाचार अन्त्य गरौं” भन्ने मूल नारासहित पोखराको न्यूरोडस्थित होटल दीपसागरमा आयोजित कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशामा सत्य, प्रमाण र जिम्मेवारीका आधारमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
“पत्रकारहरू तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ,” मुख्यमन्त्री पाण्डेले भने, “व्यक्तिगत पूर्वाग्रहले पत्रकारितालाई कमजोर बनाउँछ, यसबाट टाढा रहन जरुरी छ।”
सूचनाको हक सबै नागरिकको अधिकार भएको स्वीकार गर्दै उनले त्यसको दुरुपयोग भए समाजमा भ्रम फैलिने खतरा रहेको बताए।
“सूचनाको हकको नाममा सामाजिक सञ्जालका अप्रमाणित सामग्रीलाई समाचार बनाउने प्रवृत्ति गलत हो,” उनले चेतावनी दिए, “यस्तो अभ्यासले लोकतन्त्रलाई नै कमजोर पार्न सक्छ।”
मुख्यमन्त्री पाण्डेले स्वतन्त्रता र नियन्त्रणबीचको सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै भने:
“स्वतन्त्रता छाडातन्त्र होइन। स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो, तर यो जिम्मेवारीसहितको अभ्यास हुनुपर्छ।”
उनले पत्रकारहरूलाई कार्यालयमै आएर प्रमाण र तथ्य संकलन गर्न आग्रह गरे। “तपाईंहरू मलाई भेट्न चाहनुहुन्छ भने कार्यालय खुला छ,” मुख्यमन्त्रीको भनाइ थियो, “तथ्य लिनुहोस्, सूचनाको हक प्रयोग गर्नुहोस्, अनि लेख्नुहोस्।”

फोटो:-अर्जुन हितांङ
उनले गण्डकी प्रदेश सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयकबारे पनि चर्चा गरे।
“चार वर्षदेखि रोकिएको विधेयकलाई छलफलपछि अगाडि बढाइएको हो,” उनले बताए, “अब यसको कार्यान्वयनमा सञ्चारकर्मीहरूको पनि सक्रिय भूमिका रहनेछ।”
कार्यक्रममा उनले गोर्खा जिल्लाको बजेटसम्बन्धी समाचारलाई उदाहरण दिँदै “२० लाख खर्च भयो” भन्ने दाबी असत्य भएको बताए।
“वास्तविक खर्च त्यसको आधा पनि थिएन,” उनले स्पष्ट पारे, “पुष्टि नगरी समाचार प्रकाशन गर्दा पत्रकारिताको नैतिकता र विश्वसनीयता दुवैमा आघात पुग्छ।”
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पत्रकारितामा देखिएका चुनौती र सुधारका उपायबारे धारणा राखे।
मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आफूविरुद्ध तथ्यहीन समाचार प्रवाह भइरहेको आरोप पनि लगाए। उनले राजनीतिक असहमतिका कारण समाचारलाई तोडमोड गरी प्रस्तुत गरिएको टिप्पणी गर्दै भने, “जुन पत्रकारिता भावनामा बहकिएर गरिन्छ, त्यसले केवल व्यक्तिलाई होइन, व्यवस्थालाई नै जोखिममा पार्न सक्छ।”
अन्त्यमा उनले पत्रकारहरूलाई चेतावनीको शैलीमा स्मरण गराए — “राजतन्त्रको समयमा पत्रकार नै पहिलो सिकार बनाइएका थिए। आज प्राप्त अधिकारलाई सुरक्षित राख्न पत्रकारिता अझ जिम्मेवार बन्नु आवश्यक छ।”
“लोकतन्त्र गुम्न धेरै समय लाग्दैन। जब कलम भाँचिन्छ, तब हाम्रो आवाज बन्द हुन्छ। त्यसैले कलमलाई सत्यको रेखामा चलाऔं।”
कार्यक्रम “प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक” सम्बन्धी अन्तरक्रिया कार्यक्रम थियो,
जहाँ आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासंघ रहेको थियो।
कार्यक्रम सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो।कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, अग्रज पत्रकार नारायण कार्की, महासंघ कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी (शिवदाई)लगायतले सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

फोटो:-अर्जुन हितांङ

फोटो:-अर्जुन हितांङ
भिडियो पनि हेर्नुहोला है:-
