
पोखराको लेकसाइडस्थित बिजी बी रिसोर्टमा यही साउन ४ गते (२० जुलाई २०२५) देखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय योगा तथा ध्यान शिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहभागिता खुला गरिएको छ। ७७ दिनसम्म सञ्चालन हुने यस विशेष आवासीय प्रशिक्षणमा योग, ध्यान सम्बन्धी गहन शैक्षिक र जीवन उपयोगी ज्ञान प्रदान गरिनेछ।

उक्त कार्यक्रमको नेतृत्व भारतको स्वामी विवेकानन्द योग विश्वविद्यालयबाट योगामा स्नातकोत्तर गरेकी तथा गण्डकी विश्वविद्यालयमा अध्यापन गरिरहेकी ममता अधिकारीले गर्नेछिन्। प्रशिक्षणकी प्रमुख प्रशिक्षिका ममता अधिकारीले योगलाई केवल शारीरिक अभ्यासको रूपमा मात्र नभई आत्मचेतनालाई आध्यात्मिक रूपमा परमात्माको चेतनासँग जोड्ने विज्ञानको रूपमा बुझ्नुपर्ने बताइन्। उनले भनिन् – “आज विश्वभर योग पश्चिमीकरण हुँदै व्यावसायिक रूपमा फैलिएको छ, तर योगको मूल सार भनेको आफैंलाई चिन्नु हो। योग अनुशासन हो, योग जीवन पद्धति हो, जसले हामीलाई आत्मअनुशासन सिकाउँछ। यही अनुशासनले अन्ततः हामीलाई परमात्मासँग भेट गराउँछ।” उनले थपिन्, “चञ्चल मनलाई स्थिर पार्न सक्ने शक्तिशाली उपाय योग हो। जब हामीले योग बुझ्न थाल्छौं, तब मात्र हामीले आफूलाई चिन्ने यात्रा सुरु हुन्छ।”

अन्य प्रमुख प्रशिक्षकहरूमा त्रिभुवन विश्वविद्यालयका योग स्नातकोत्तर प्रदीप क्षेत्री, ओम मेडिटेशन परिवारसँग ३० वर्षको अनुभव भएका योगी सुनील, पतञ्जली नेपालका केन्द्रिय प्रशिक्षक तथा ३५ वर्षदेखि योग साधनामा सक्रिय गुरु लवदेव, र नेतृत्व तथा माइन्डफुलनेसमा ४० वर्षको अनुभव भएका विकल शेरचन छन्।
कार्यक्रमका परिकल्पनाकार राजु केसीले भने, “कोरोना कालसम्म मैले योगलाई केवल योगीहरूले भुलाउने खेल वा प्रदर्शनको विषय मात्र ठानेको थिएँ। तर जब जीवनको गहिरो मोडमा पुगेर आफैले सिकें, तब मात्र बुझेँ – साँचो सुख र शान्ति बाहिरी आवरणमा होइन, भित्रको अनुशासित साधनामा रहेछ।”
उनले थपे, “मैले सबै धर्म र दर्शनमा खोजें, तर योग र ध्यान नै जीवन परिवर्तन गर्ने मूलमन्त्र हो भन्ने बुझ्न धेरै समय लागेन। खुशी प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण साधना नै योग हो। त्यसैले यो विषय सानै उमेरदेखि सिक्नैपर्ने आवश्यक छ।” उनले सबैलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरे।

कार्यक्रमका विशेष आमन्त्रित व्यक्तित्वहरूमा डा. नवल – मेमोरी पावरमा तीनपटक गिनिज वर्ल्ड रेकर्ड विजेता, डा. अमर – मानव स्वास्थ्य तथा सन्तुलित आहार विज्ञ, उत्प्रेरक राजु – २७ वर्षको अनुभव भएका अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर, गणेश – NLP मास्टर ट्रेनर तथा लाइफ कोच, डा. योगी विकासानन्द – मनोक्रान्ति नेपालका संस्थापक, आचार्य राजा बाबु – वास्तुशास्त्री तथा अंकशास्त्री लगायतका अनुभवी र बहुप्रशिक्षित व्यक्तित्वहरूको सहभागिता रहनेछ।
कार्यक्रमलाई ७, १७, ३७, ५७ र ७७ दिनका विभिन्न तहमा विभाजन गरिएको छ, जसमा इच्छाअनुसार सहभागी हुन सकिनेछ। सहभागीहरूले चारतारे रिसोर्टमा आवास, दिनमा तीनपटक अर्गानिक खाना, पौडी, स्टीम, साउना स्नान र आयुर्वेदिक मसाजजस्ता सेवा पाउनेछन्। प्रतिदिनको शुल्क रु ३७५० निर्धारण गरिएको कार्यक्रम सञ्चालक गणेश गिरीले जनाएका छन्।

पत्रकार सम्मेलनमार्फत प्रशिक्षणबारे जानकारी दिँदै कार्यक्रम सञ्चालक गणेश गिरीले पत्रकारहरूले प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
