प्रकाश अधिकारी ,पोखरा
‘मानो रोपेर मुरी फलाउने’- भन्ने नेपाली उखानलाई आत्मसात गर्दै यस वर्षको असार १५ मा पोखराका विभिन्न ठाउँमा आयोजना गरिएका रोपाइँ महोत्सवहरू उल्लासपूर्वक सम्पन्न भएका छन्। धान खेतीप्रति सम्मान, कृषकप्रतिको कदर र कृषि–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवहरूले पोखरालाई कृषि पर्यटनको आकर्षक गन्तव्यको रूपमा थप उचाइमा पुर्याएको छ।

गुँदेतालमा २०औँ रोपाइँ महोत्सव
पोखरा महानगरपालिका वडा नं. २६ स्थित गुँदेताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २०औँ असारे रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भयो। ‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा परम्परागत हल गोरुद्वारा धान रोपाइँ, हिलो छ्यापाछ्याप, रस्साकस्सी, माछा समाउने, र विविध सांगीतिक प्रस्तुतिहरूले सहभागी तथा दर्शकलाई भरपूर मनोरञ्जन दिलायो।

गुँदेतालमा आयोजित पत्रकारहरूको छुट्टै हिल दौड प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा पत्रकारहरूको सक्रिय सहभागिता रह्यो। दौडमा प्रबिन मगर प्रथम स्थानमा आउन सफल भए भने बालबहादुर रोका द्वितीय भए।

खाल्टेमसिनामा राष्ट्रिय धान दिवस
यसै अवसरमा नेपाल किसान महासंघ कास्की र पोखरा वडा नं. १४ को समन्वयमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव खाल्टेमसिना क्षेत्रमा सम्पन्न भयो। कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष पुण्डरी बराल, वडा अध्यक्ष बोधबहादुर कार्की, तथा केन्द्र सदस्य नम्रता बराललगायत वक्ताहरूले कृषकप्रति कदर व्यक्त गर्दै कृषि प्रणालीको पुनर्जागरणमा जोड दिएका थिए।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाद्वारा उद्घाटन गरिएको कार्यक्रममा उनलेआफ्नो धारणा राख्दै “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको वताय ।” मन्त्री थापाले कृषिलाई व्यवसायिक, युवामैत्री तथा प्रविधिमैत्री बनाउन प्रदेश सरकारले कृषिमा बीमा, अनुदान र कर्जासम्बन्धी नीति कार्यान्वयन गरिरहेको जानकारी पनि दिए।

हेमजामा पाँचौँ हिले महोत्सव
“कृषिमा कृषकलाइ प्रोत्साहन, विष्णुपादुकाको मन्दिर हेमजाको शान” भन्ने नारासहित, पोखरा वडा नं. २५ स्थित विष्णुपादुका मन्दिर परिसरमा देवीस्थान सेवा समाजद्वारा आयोजित पाँचौँ हेमजा हिले महोत्सव २०८२ पनि विविध सांस्कृतिक तथा कृषि खेलकुद कार्यक्रममा सम्पन्न भयो।
मुख्य आकर्षणहरूमा हिलो दौड, रस्साकस्सी, घैटो फुटाउने, विद्यालयस्तरीय धान रोपाइँ, हल गोरु दौड, माछा र भाले समाउने, उत्कृष्ट अङ्की प्रदर्शनी र उत्कृष्ट कृषक सम्मान जस्ता गतिविधिहरू सामेल थिए।

दही चिउरा, परम्परा र शक्ति
असार १५ लाई ‘दही चिउरा खाने दिन’ का रूपमा पनि मनाइन्छ। “असार पन्ध्र, दही चिउरा खानु पर्छ” भन्ने लोकप्रिय भनाइअनुसार कृषकहरूले खेतमा झर्ने अघि दही चिउरा खाएर काममा लाग्ने परम्परा अझै जीवित छ। दहीमा पाइने पाचन एन्जाइम र चिउराको ऊर्जाले थकाइ हटाउँछ भन्ने जनविश्वास रहँदै आएको छ।

कृषि पर्यटनमा सम्भावना
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भने, “पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषिमा आधारित संस्कृति पनि पर्यटकका लागि उत्तिकै आकर्षण बन्न सक्छ। अफ सिजनमा पर्यटक भित्र्याउने, हराउँदै गएको कृषि प्रणालीको जगेर्ना गर्ने, र खेतीयोग्य जमिनको सदुपयोगमा यी महोत्सवहरू सहायक रहेको पहारीले बताएका छन ।
