पोखरा
जिल्ला प्रहरी कार्यालयले कास्कीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २०८२/३/२३ गते पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश ,पोखराबाट संचालन भएको परीक्षामा बर्ग ‘बि’ (कार, जीप, डेलिभरी भ्यान) को प्रयोगात्मक परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्ति पर्वत जिल्लाको अमलाचौरका ३३ वर्षीय मोहम्मद रहीम रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

रहीमले पोखरा यातायात व्यवस्था कार्यालयबाट सञ्चालन भएको परीक्षामा कुमार भण्डारी नामका व्यक्तिको नाममा परीक्षा दिइरहेका थिए। अनुसन्धानमा रहीमले कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँसी नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा जिल्ला अदालतबाट लिखत सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीका अनुसार यस्ता गतिविधिहरू सवारी चालक अनुमतिपत्रको प्रक्रियामा हुने अनियमितताको उदाहरण हुन् र दोषीमाथि कानुनी कारबाही गरिनेछ।
