पोखरा,
पोखरा स्थित प्रसिद्ध पर्यटकीय स्थल पातले छाँगो (डेभिडफल्स) को विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएको विरोधमा जनकारबाहीमा संलग्न भएको आरोप लागेका विद्यार्थी नेताहरूलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघका गण्डकी प्रदेश संयोजक राजन साउद, कास्की जिल्ला संयोजक बासुदेव बुढा तथा पार्टीका ब्यूरो सदस्य लोकेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताको विरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको उल्लेख छ।
पक्राउ परेका उनिहरूको साथबाट विभिन्न प्रचार सामग्री—फ्लेक्स प्रिन्ट, ब्यानर, डायरी, पुस्तक तथा तीन थान मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
गत केही दिनअघि मात्रै श्री छोरेपाटन माध्यमिक विद्यालय, कास्कीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि जनकारबाही भएको थियो। पार्टीको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत विद्यालयको सार्वजनिक सम्पत्ति निजी कम्पनीलाई ठेक्कामा दिँदै लुटतन्त्र मच्चाएको आरोपमा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले पहारीमाथि कालोमोसो दलेर सांकेतिक कारबाही गरेको थियो।
पछिल्लो समय पातले छाँगोको सार्वजनिक स्वामित्व गुम्ने खतरा देखिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका थिए।
४८ वर्षदेखि श्री छोरेपाटन माविको संरक्षणमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिँदा विद्यार्थीको भविष्यसँग जोडिएको आम्दानीको स्रोत गुम्ने भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
साथै, उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अध्याय २१ को दफा २५३ बमोजिम ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा पनि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ
