Saturday, November 8News That Matters

जग्गा विवादले जंगेले गरे श्रीमतीको हत्या:दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


पोखराको रिठ्ठेपानीमा एक पुरुषले जग्गा बेच्ने विषयमा भएको विवादका कारण आफ्नै श्रीमतीको ज्यान लिएको घटनाले सनसनी फैलिएको छ।
५८ वर्षीय जंगे सार्कीले ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीको हत्या गरेका हुन्। उक्त घटना पोखरा महानगरपालिका–२७ स्थित सुकुम्बासी बस्तीमा भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले आइतबार पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेका हुन्।
उनका अनुसार, मृतक जमुना साउन ८ गते राति साढे आठ बजे आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।


स्थानीय बासिन्दाले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेपछि जमुनाको शव कुहिन थालिसकेको अवस्थामा भेटिएको थियो।
घटनास्थलको प्रारम्भिक मुजुरा संकलनपछि शंका मृतकका श्रीमान् जंगे सार्कीमाथि केन्द्रित भयो। त्यसैदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
हत्या साउन ६ गते, पर्दाफास दुई दिनपछि
प्रहरी अनुसन्धानमा खुलेअनुसार साउन ६ गते राति खानेपछिको मदिरापानपछि जंगे र जमुनाबीच जग्गा बिक्रीको विषयमा भनाभन भएको थियो।
आवेगमा आएर जंगेले जमुनालाई दुईपटक मुक्का प्रहार गरेका थिए। ती प्रहारले उनी भित्तामा ठोक्किएकी थिइन्, जसका कारण गम्भीर चोट लागेर उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।
पोस्टमार्टम रिपोर्टमा पनि टाउकोमा लागेको चोट र रगत जमेकै कारण मृत्यु भएको पुष्टि गरिएको एसपी ओलीयाले जानकारी दिए।


जंगे र जमुना माछापुच्छ्रे गाउँपालिका–५, रिभानका स्थायी बासिन्दा हुन्। उनीहरू पछिल्लो दुई दशकदेखि रिठ्ठेपानीमा अस्थायी छाप्रो बनाएर बस्दै आएका थिए।
जंगे दैनिकी मजदुरीमा संलग्न थिए भने जमुना घरमै रहन्थिन्।
सार्की दम्पतीको पारिवारिक जीवन यद्यपि झगडामय थिएन भन्ने बताइए पनि, यसपटकको विवाद घातक सावित भयो।


जंगे सार्कीसँग प्रारम्भिक बयान संकलन गरिसकेको प्रहरीले उनलाई कर्तव्य ज्यानअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी राखेको छ।
कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिएर थप विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस