Saturday, November 8News That Matters

पोखरामा अवैध हुन्डी कारोबार, ७६ लाख नगदसहित तीन जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा


अवैध रूपमै विदेशी मुद्रा सटही तथा हुन्डी कारोबारमा संलग्न भएको अभियोगमा तीन जना पोखराबाट पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट झण्डै ७६ लाख रुपैयाँ बराबरको नेपाली तथा विदेशी नगद समेत बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३, हाटबजारका महमुदिन एम अहमद झापाको दमक नगरपालिका–४ का राजकुमार बुढाथोकी र पोखरा–१९, पुरनचौरका खेमराज पौडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, उनीहरू लामो समयदेखि मनि एक्सचेन्जको आडमा अवैध विदेशी मुद्रा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत दिएको विवरण अनुसार, उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर ४ हजार युरो, र ४४ लाख ८ हजार नेपाली रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूमध्ये राजकुमार बुढाथोकी २० वर्षदेखि र खेमराज पौडेल १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गर्दै आएको र त्यसैमार्फत अनधिकृत रूपमा विदेशी मुद्रा सटही गर्ने कार्यमा लिप्त रहेको प्रहरीले जनाएको छ।

घटना श्रावण १० गते, शनिबार साँझ करिब ५ बजे को हो। पोखरा–१७, पार्दी बिरौटा क्षेत्रमा अवैध रूपमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिएअनुसार, पक्राउ परेकाहरूमाथि राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा १५ बमोजिम मुद्दा दर्ता गरी इजाजतपत्रबिनाको विदेशी विनिमय कारोबार गरेको अभियोगमा कारबाही प्रक्रिया सुरु गरिएको छ।

कानुन अनुसार, दोषी प्रमाणित भएमा बरामद भएको रकम जफत हुनुका साथै त्यसको तीनगुणा जरिवाना वा सात वर्षसम्मको कैद सजाय हुन सक्ने प्रावधान छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान हाल पनि जारी छ।

प्रतिकृया दिनुहोस