पोखरा,
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नाराका साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्र, पोखरा–१४ ले आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
पोखरेली ट्याक्सी सेवा प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको यस समूहले पहिलो पटक सुरु गरिएको रक्तदान अभियानलाई आगामी दिनदेखि हरेक वर्ष निरन्तर रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।

कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवाका चालक, कर्मचारी र सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानमा सहभागीहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र मानवीय सेवाको भावना बलियो बनाउने उद्देश्य रहेको बताए।

कार्यक्रमका सभाध्यक्ष केन्द्र बहादुर के.सी. ले ट्याक्सी व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि चालकहरू अग्रणी बन्नुपर्नेमा जोड दिँदै रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
त्यस्तै, प्रमुख अतिथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला ले विमानस्थल ट्याक्सी सेवाले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै, यस किसिमका अभियानले समुदायमा सकारात्मक ऊर्जा फैलाउने उल्लेख गरे।

कार्यक्रममा उप–निदेशक जसोधा सुवेदी, हवाई सुरक्षा तथा टर्मिनल व्यवस्थापक प्रमुख सूर्यबहादुर खत्री, इन्जिनियर कृष्ण पौडेल, प्रहरी निरीक्षक कृष्ण बस्याल, पोखरेली ट्याक्सी सेवा प्रा.लि. अध्यक्ष शोभाकान्त पौडेल, उपाध्यक्ष प्रकाशमणि तिवारी, गण्डकी ट्याक्सी पब्लिक लि.का लेखा प्रमुख यज्ञ नारायण गिरि, एवन ग्रेटर नेपाल यातायात प्रा.लि.का अध्यक्ष अर्जुन पौडेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्की शाखा अध्यक्ष दिपेन्द्र अधिकारी, पत्रकार शिवराज बस्ताकोटी, पत्रकार ऋषिराम दाहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सचिव जित परियारले गरेका थिए भने स्वागत मन्तव्य उप–प्रमुख रनबहादुर हितानले प्रस्तुत गरेका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रले रक्तदान अभियानलाई नियमित रूपमा सञ्चालन गरेर समाजसेवा र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

आयोजित रक्तदान कार्यक्रममा अतिथि लगायत सम्पूर्ण रक्तदाताहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।
