पोखरा,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट पोखराका तीन जना यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदाधिकारीमा निर्वाचित भएका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार साई ७ सय ४९ मतसहित निर्वाचित भएका छन् भने केदार पौडेल ५ सय ७९ मतसहित तेस्रो वरिष्ठ उपाध्यक्षमा विजयी बने। उपमहासचिव पदमा पोखराकै भानुभक्त बराल ७ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला ‘सरोज’ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले १ हजार ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ४ सय ६४ मत मात्रै प्राप्त गरेका निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिए।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित ऐनकुमार साई यसअघि पनि सोही जिम्मेवारीमा थिए भने केदार पौडेल महासंघको गण्डकी प्रदेश अध्यक्षको भूमिकामा सक्रिय थिए। उपमहासचिवमा विजयी भानुभक्त बराल यसअघि महासंघको सचिव पदमा कार्यरत थिए।
महासंघको विधानअनुसार तीन जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था रहेकामा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा सानुकाजी प्रजापती ८ सय २६ मतसहित पहिलो वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए। ऐनकुमार साई दोस्रो र केदार पौडेल तेस्रो वरिष्ठ उपाध्यक्षमा निर्वाचित बने।
वरिष्ठ उपाध्यक्ष पदका अन्य उम्मेदवार राजेन्द्र रिजालले ४ सय ९७, सुनिल कुँवरले ४ सय ९१ तथा गोकर्णप्रसाद पराजुलीले ४ सय १५ मत प्राप्त गरे पनि पराजित भए।
महासंघको कार्यसमितिमा सात जना उपाध्यक्ष रहने व्यवस्थाअनुसार १३ जनाबीच प्रतिस्पर्धा भएको थियो। चन्द्रा ओझा ७ सय ८३, डम्बरराज पन्त ६ सय ९३, आत्माराम थापा ६ सय ३१, कान्छाराम थिङ ६ सय १०, कान्छाराम बल ५ सय ८५, जितबहादुर भारती ५ सय ५६ र रामप्रसाद सुवेदी ५ सय ३९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै, मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ ७६ मतसहित विजयी हुँदा नविन प्रजापती ६३ मतसहित पराजित भए।
महासचिव पदमा डेकनाथ गौतम ६ सय ९८ मतसहित विजयी बने। उनका प्रतिस्पर्धी ज्ञानेन्द्र श्रेष्ठले ४ सय ८९ र शम्भुप्रसाद रिजालले २ सय ८३ मत प्राप्त गरे।
तीन उपमहासचिव पदमध्ये देविन श्रेष्ठ ८ सय ४१, भानुभक्त बराल ७ सय ६१ र पुरुषोत्तम सिंखडा ६ सय १३ मतसहित निर्वाचित भए।
त्यसैगरी सचिव पदमा उमेश केसी, चेतप्रसाद गौतम (अर्जुन) र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा राजेन्द्र आचार्य तथा सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी बने।
महासंघको खुला १४ सदस्य पदमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भूपेन्द्र खड्का र हेमराज दाहाल निर्वाचित भएका छन्। अन्य विभिन्न क्लस्टरबाट समेत व्यवसायीहरू विभिन्न पदमा निर्वाचित भएका छन्।

