Sunday, May 24News That Matters

पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा ।

पोखरामा “स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान” भन्ने मूल उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनमा ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि विशेष जेष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम–२०८३ आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा–५ को आयोजनामा हुने उक्त कार्यक्रम आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि वाराही माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

जेष्ठ नागरिकहरूको स्वास्थ्य, सक्रियता, मित्रता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमले वृद्धवस्थामा पनि खेलकुदमार्फत उत्साह र उमंग थप्ने विश्वास आयोजकको छ ।

“हिँड्दै खेलौं, मिलेर खेलौं, रमाएर बाँचौं” भन्ने नारासहित सञ्चालन हुने वाकिङ फुटबलमा दौडन नपाइने, ठक्कर तथा कडा ट्याकल निषेध गरिने र सानो मैदानमा सीमित खेलाडीमार्फत सबैको सहभागिता सुनिश्चित गरिने बताइएको छ ।

आयोजकका अनुसार खेलमा सहभागी हुन ७० वर्ष पुगेका (२०१३ साल वा सोभन्दा अगाडि जन्मिएका) तथा पोखरा–५ मा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने जेष्ठ नागरिक हुनुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय तथा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रमले जेष्ठ नागरिकहरूबीच पुनर्मिलन, सामाजिक सम्बन्ध विस्तार तथा मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस